visit-nepal

सुरक्षित भण्डारण नभएको तेल गुणस्तरहिन

चाडवाडमा तेल–घिउको प्रयोगमा विशेष सतर्कता अपनाउन सुझाव

विराटनगर, ८ कात्तिक । सुरक्षित भण्डारण नहुँदा भान्छामा प्रयोग गरिने खाद्य तेलहरूको गुणस्तर नष्ट हुनेगरेको पाइएको छ । भान्छामा खानेकुरा पकाउन प्रयोग गरिँदै आएका कच्चा तोरी र आलस तथा प्रशोधित भटमास र सूर्यमुखी, सोयाबिन र सनफ्लावर तेलहरू उचित प्रकारको भण्डारणमा चासो नदिँदा तोकिएको मापदण्ड (भ्यालु) कम भइ कम गुणस्तरीय हुनेगरेको पाइएको हो ।

क्षेत्रीय खाद्य अनुसन्धान तथा गुण नियन्त्रण कार्यालय विराटनगरमा कार्यरत खाद्य विज्ञहरूका अनुसार उचित भण्डारण नहुँदा तेलको गन्धमा खराबी आउने गर्दछ । र, तेलमा हुनुपर्ने तत्त्व पनि कम भएर जान्छ । तेलमा परलिटर १० मिलि ‘इक्वि भ्यालेन पेरोक्साइड’ भ्यालुको आवश्यकता पर्दछ । तर, सुरक्षित भण्डारण नहुँदा यहीँ भ्यालु बढी हुन गइ तेल गन्हाउन थाल्दछ । तेलको प्राकृतिक गन्धबाहेक ह्वास्स गन्ध आयोभने तेलको गुणस्तरमा खराबी पनि आएको हुनसक्छ । ह्वास्स गन्ध आएको तेल प्रयोग गर्नु हुँदैन ।

अर्कोतिर प्लास्टिकको पाउचमा प्रयोग गरिएका तेलमा भ्याकुम (प्रेसर) पनि सही हुनु पर्दछ । सही तरिकाले प्याक नगरिएका तेलपनि चाँडै खराब हुनेगर्दछ । तेल सधैँ सुख्खा र सफा हावा लाग्ने ठाउँमा राख्नुपर्दछ । धेरै गर्मी, पानी पर्ने ठाउँ र आगोको नजिक तेल राख्नु हुँदैन ।

बजारमा प्रशोधित तेल किन्दा केमिकल रिफानरीभन्दा फिजिवल रिफाइनरी प्रविधिबाट उत्पादन गरिएको तेल प्रयोग गर्नु उत्तम हुन्छ । खाद्य विज्ञहरूका अनुसार यो प्रविधिवाट केमिकल प्रविधिबाट भन्दा राम्रो प्रशोधन भएको हुन्छ । तेल पेल्दा तेलमा पानीको मात्र मिसाउनु हुँदैन । तेलमा पानी पर्यो भने चाँडै तेल गन्हाउँछ र अखाद्य हुन्छ । किराना पसल र हाटबजारमा तातो घाम र पानीमा खुल्ला बिक्री गर्न राखिएका तेल पनि प्रयोग गर्नु राम्रो होइन ।

मिसावट गरिएका र भ्यालु कम भएको कम गुणस्तरीय र अखाद्य तेल खाएमा मानव शरीरको पेट र छाला अनि मस्तिष्कमा असर पुर्याउँछ । दसैँ, तिहार र छठ पर्वहरूमा तेल–घिउको बढी खपत हुने भएकोले यसको प्रयोगमा बढी ख्याल गर्नुपर्ने विज्ञहरूको राय छ ।

दसैँ, तिहार, छठ आदि चाडपर्वमा भारतीय बजारहरूबाट आयात गरिएका र नेपालमै अवैध रूपले उत्पादन गरिएका कम गुणस्तरीय र अखाद्य तेलहरू बढी बिक्री गर्न मौका छापिने गरिन्छ । यसैले ब्राण्डेड कम्पनीको तेल–घिउ हो हैन विचार पुर्याएर मात्र खरिद गर्नु उचित हुन्छ ।

खाद्य अनुसन्धान तथा गुणनियन्त्रण कार्यालय विराटनगरले बजारमा बिक्री भएका नमुना संकलन गरेर प्रयोगशालामा अनुसन्धान गर्दा अखाद्य वस्तु र कम गुणस्तर सबैभन्दा बढी तेल–घिउमै फेला पर्ने गरको छ ।

Loading...