fbpx

‘भद्रगोल’ र ‘सक्किगोनी’ बीच आपसी सहमति

विराटनगर, ८ कात्तिक । केही दिनअगाडि नेपाल टेलिभिजनबाट हरेक बिहीबार प्रशारण भइरहेको हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध ‘भद्रगोल’ का उत्पादक मिडिया हवले प्रहरीमा उजुरी गरेको थियो ।

मिडिया हवले उनीहरूलाई क्यारेक्टर कपिराइट गरेको भन्दै प्रहरीमा उजुरी दिएको थयो । ‘भद्रगोल’ का चरित्रहरुलाई लिएर अर्को टेलिश्रृंखलामा प्रयोग गर्दा आफूहरूलाई अप्ठेरो परेकाले मिडिया हबका प्रमुख सोमप्रसाद धितालले प्रहरीमा उजुरी दिएका थिए ।

जिग्री, पाँडे, बले, कक्रोच, सितेबा जस्ता क्यारेक्टरहरू मिडिया हबका उत्पादन भएकाले तिनिहरूलाई ‘सक्किगोनी’मा प्रयोग गर्दा अप्ठेरो परेको धितालको भनाइ थियो । त्यहीबीचमा यी दुई टोलीबीच विवाद उत्पन्न भएको थियो । तर, विवादका बीच यी दुवै टोलीले आपसी सहमति गरेका छन् । ‘सक्किगोनी’का निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ले मिडिया हवसँग आपसी समझदारी भएको जनाएका छन् ।

अर्जुनले फेसबुकमा एक पोस्ट गर्दै दुवै टोलीबीच सहमति भएको जनाएका छन् । उनी शुक्रबार बिहान लेखेका छन्, ‘पछिल्लो समय मिडिया हब प्रा.लि.र ‘सक्किगोनी’हाँस्य टेलिसिरियल बीच उत्पन्न विवाद दुवैपक्ष बसी आपसी समझदारीमा टुंगोमा पुर्याइएको छ । हाँस्य टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगोनी’ यहाँहरूले नियमित रूपमा हेर्न पाउनुहुनेछ । कलाकार र सर्जकको मिडिया हब प्रालिले पनि सम्मान गर्ने र सर्जक कलाकारले पनि मिडिया हब प्रा.लि.को योगदान र सहयोगलाई सम्मान गर्दै अगाडि बढ्ने प्रतिजवता जाहेर गर्दछौं । पछिल्लो समयमा उत्पन्न विवादित विषय यहीँ टुंगिएको र आगामी दिनमा यो विषय दुवै पक्षले नउठाउने सहमति भएको जानकारी गराउँदछौँ । प्रत्यक्ष–अप्रत्यक्ष रूपमा मिडिया हब प्रा.लि.र सक्किगोनी सिरियलप्रति देखाउनुभएको सहानुभूति, माया, सद्भावप्रति सम्पूर्णमा कृतज्ञ छौँ ।’

मिडिया हबले बनाइरहेको भद्रगोलमा पुराना पात्रहरू नभएपनि नेपाल टेलिभिजनबाट भद्रगोलको हरेक हप्ता प्रशारण जारी राखेको छ । अर्जुन र कुमारसहितको २१ जनाको पुरानो टिमले नयाँ टेलिश्रृंखला ‘सक्किगोनी’ निर्माण गरेको हो ।

कलाकारहरूले समयमा पैसा नपाएको गुनासो गर्दै कार्यक्रमको युट्यूव राइट पूर्ण रूपमा आफूहरूले पाउनुपर्ने माग गरेपछि उत्पादक मिडिया हबसँग कुरा नमिल्दा अलगिएर कुमार र अर्जुनको समूहले आफ्नै लगानीमा नयाँ टेलिश्रृंखला निर्माण गरेका हुन् । लेखन तथा निर्देशन जिग्री र पाँडेकै रहेको ‘सक्किगोनी’को कथा, पृष्ठभूमि र पात्रहरू भद्रगोलबाटै सारिएका छन् ।

Loading...