fbpx

पत्रपत्रिकामा प्रदेश : तिहारमा पनि धुलाम्मे विराटनगर, जथाभावी सडक खन्दा समस्या

विराटनगर ८ कात्तिक । हिन्दुहरुको दोश्रो ठुलो पर्व तिहारको तयारी धुमधामले चलिरहदाँ विराटनगरको मेन रोड भने कुरुप भएको छ । चाडवाड लागेपछि सहरलाई सफा, सुन्दर र हाराभारा बनाउनु पर्नेमा सडक बनाउने तथा पोल सार्ने काम भइरहदाँ सहर कुरुप देखिएको हो । विगतका वर्षमा तिहार झिलिमिली हुने र पूर्ण सरसफाइ हुने गरेको मेन रोड क्षेत्र यतिबेला पसि नसक्नु भएको छ ।

सडककै कारण दशैंको बेला त व्यापार भएन भएन् तिहारमा समेत ग्राहक छिर्न मानेनन् । दिनभर लाइन नआउने, इन्टरनेट बन्द भएको छ । सडकमा माटो थुपारिदाँ ग्राहक नआउने गरेको स्थानीय व्यापारी जयन्त बोथरा बताउँछन् । चाडबाडको समयमा व्यापार व्यावसाय तथा सर्वसाधारणलाई असर नगर्ने गरि विकासको काम गर्नु पर्नेमा समय तालिका नमिलाई जथाभावी काम सुरु गर्दा समस्या भएको सरोकारवालाहरुले बताए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भने सडक र पोल निर्माणको काम तीव्र पारिएको बताए । यो समाचार जनविद्रोह दैनिकमा छ ।

उद्घोष दैनिकले चालु आर्थिक वर्षदेखि संघीय सरकारले लागु गरेको भेइकलकन्साइन्मेन्ट ट्रयाकिङ सिस्टममा व्यवसायीहरु अभ्यस्त नभएकोले समस्या भएको समाचार छापेको छ । ट्रान्सपोर्ट व्यवसायी संघ विराटनगरका निवर्तमान अध्यक्ष सुशील जोशीले साना व्यवसायीहरु कम्प्युटर विलिङमा अभ्यस्त नभएकोले समस्या भएको बताए । व्यवसायीहरुले कम्प्युटर विलिङ दिएको माल बस्तुको बिल रि इन्ट्री नहुँदा समस्या हुने गरेको छ । यस्तै सर्वरको समस्याले पनि व्यवसायीहरु पिडित भएका जोशीको भनाई छ । राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख वेदराज पूmँयालले अब कुनै पनि समस्या नरहेको बताए ।

तिहार र छठ सुरु हुनै लाग्दा इनरुवाका पण्डीत समूदाय भने माटाका भाँडा  बनाउन व्यस्त भएको समाचार कान्तिपुर दैनिकमा छ । माग धेरै भएपछि परिवारका सबै नै दिनरात नभनी काममा लागेको इनरुवा बिहीबारे हटियाका सुदमलाल पण्डीतले बताए । पाला, कलश, धुपौरो, खुत्रुके लगायतका भाँडाको माग बढी हुने गरेको छ । माटाका भाँडा बनाउने पण्डित समूदायले तिहारमा कम्तिमा पनि ३० हजार रुपैयाँ कमाउने गरेका छन् ।

प्रदेश १ सरकारले सञ्चालन गरेको विषादी अवशेष द्रत विश्लेषण प्रयोगशाला प्रयोगविहिन रहेको समाचार ब्लाष्ट टाइम्सले छापेको छ । प्रदेश सरकारले आयात हुने तरकारी र स्थानीय उत्पादनमा भएको विषादीको मात्रा जाँच गर्न प्रयोगशाला सञ्चालन गरेपनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ । प्रयोगशालामा परिक्षणको लागि भण्टाबारी भन्सार कार्यालयबाट आलु र प्याज आउने गरेको छ । विराटनगर भन्सार कार्यालयबाट भने परिक्षणको लागि केही आउँदैन् ।

Loading...