निन्द्रा नपुग्दा शरीरमा लाग्छ रोग

विराटनगर, ७ कात्तिक । दिनभरि काम गरेपछि लागेको थकाइलाई हटाउनका लागि राति आराम गर्नु जरूरी हुन्छ । मज्जाले निन्द्रा पुग्दा शरीर तथा मस्तिष्कको थकान हटेर भोलिपल्ट फेरि काम गर्ने ऊर्जा पनि थपिन्छ ।

विकसित मुलुकहरूमा मानिसहरूको ज्यान लिइरहेको अल्जाइमर्स, क्यान्सर, मुटु र धमनीसम्बन्धी रोगहरू, मोटोपन, डिप्रेशन, चिन्ता र आत्महत्याको पनि निद्राको अभावसँग केही न केही सम्बन्ध पाइएको छ । निदाएको अवस्थामा मानव शरीरका सबै प्रणालीहरूको नवीकरण हुन्छ । निद्रा पुगेन भने शरीरका सबै अंगहरुमा असर पर्न जान्छ ।

युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका मनोविज्ञान प्राध्यापक तथा निन्द्रा विशेषज्ञ म्याथ्यु वाकरले गरेका थुप्रै अध्ययनले लामो र स्वस्थ जीवनका लागि मीठो निद्रामा समय खर्च गर्न सुझाव दिन्छन् । दैनिक ७ देखि ९ घण्टा सुत्दा पर्याप्त निद्रा पुग्ने गर्छ ।

हालै गरिएको अनुसन्धानले ६ घन्टाभन्दा कम सुत्ने मानिसलाई मिर्गौला, उच्च रक्तचाप, मोटोपन र मधुमेहको डर हुने देखाइएको छ । राम्रो निन्द्रा नपुग्दा शरीरमा रगतको प्रवाह प्रभावित हुन्छ र शरीरका विभिन्न अंगहरु राम्रो काम गर्न सक्दैन । राम्रो निद्रा नपुग्दा मिर्गौला, हृदय, फोक्सो, मस्तिष्क फेल हुने सम्भावना हुन्छ ।

रोगको प्रतिरोध गर्ने क्षमतामा असर पर्न गइ शरीरमा विभिन्न रोग लाग्छ । राम्रो निन्द्राका लागि जीवनशैलीमा परिवर्तन गर्नुपर्छ । शरीरलाई आवश्यक पर्ने पोषण तत्वका भएको पर्याप्त भोजन, प्रसस्त पानी, धुम्रपान, मदिरापान तथा सुर्तीजन्य पदार्थको त्याग, नियमित ब्यायाम, गुलियो, चिल्लो, पिरो तथा जंक फुडको त्याग गर्नाले शरीर स्वास्थ्य हुने हुदा मीठो निन्द्रा लाग्न सक्छ ।

पर्याप्त सुत्नु शारीरिक र मानसिक स्वास्थ्यका लागि मात्रै नभएर रचनात्मकता र सृर्जनशीलताका लागि पनि महत्त्वपूर्ण हुन्छ । निदाउनु भनेको तकियामा टाउको राख्नु मात्रै होइन । विश्वका धेरै मानिसहरूलाई निदाउन गाह्रो हुन्छ । निद्रा प्राकृतिक हुनुपर्छ । निद्रा लगाउने विभिन्न औषधिको सेवनले क्यान्सर, सङ्क्रमण र मृत्युको सम्भावना बढाउने गर्छ ।

Loading...