fbpx

व्यापारीलाई धनतेरसको प्रतीक्षा

विराटनगर, ७ कात्तिक । पञ्चाङ्ग बमोजिम प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन धनतेरस मनाउने चलन छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरी र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो ।

धनतेरसका दिन नयाँ–नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । समाजका उच्च, मध्यम वा निम्न सबै वर्गका व्यक्तिहरूमा आफ्ना आवश्यकता र विलासिताका कतिपय महत्त्वपूर्ण चिजबिजको किनमेलका लागि वर्षभरि यही विशिष्ट दिनको प्रतीक्षा गर्ने गर्दछन् ।

धनतेरसमा किनमेल गर्नुपर्छ भन्ने मान्यता कहिले र कसरी आरम्भ भयो भन्ने विषयमा कुनै प्रमाण  छैन तर धन्वन्तरिको प्रादुर्भाव समुद्र मन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुडा किनमेलका लागि शुभ मान्न थालिएको हो ।

धनतेरसलाई मध्यनजर गरेर विभिन्न पसलहरूले सरसफाइ  थालेका छन् । सामानहरू पनि सफा गरेर चिटिक्क परेर सजाउन थालेका छन् । अन्य दिनभन्दा  धनतेरसमा पसलहरूमा चहलपहल हुने हुँदा धनतेरसको दिन राम्रो व्यापार हुने गरेको व्यापारीहरू बताउँछन् ।

विष्णु भाडा पसल विराटनगरका सञ्चालक सुजन तुलाधर  धनतेरसमा आफ्नो नियमित ग्राहकहरू एकै पटक आउने बताउँछन् । धनतेरसमा पसलमा ग्राहककाे भिड धान्न मुस्किल पर्ने उनी बताउँछन् । उनका अनुसार यस दिनमा मानिसहरूले प्रायजसो पित्तल, तामाजस्ता धातुले बनेका सानो कुराहरूदेखि लिएर ठूलो सामानहरू किन्ने गर्छन् ।

कति ग्राहकहरुले पुरानो सामान दिएर नयाँ सामानहरू लैजान्छन् ।

विराटनगरकै विक्की ज्वेलर्सका सञ्चालकले धनतेरसको दिनको पर्खाइमा रहेको बताउँछन् । धनतेरसमा आफ्नो क्षमताअनुसार चाँदी तथा सुनका सामाग्री तथा गरगहनाहरूकाे बिक्री पनि बढी हुन्छ ।

व्यापारीहरु मात्र नभएर सुनचाँदी बनाउने कारिगडहरू पनि व्यस्त रहन्छन् । सामान्य अवस्थामा भन्दा धनतेरसमा सुनचाँदी पसलहरूबाट गरगहना बनाउनको लागि धेरै अर्डर आउने गरेको गरगहना बनाउने व्यवसायी राज घिमिरे बताउँछ्न ।

धनतेरसमा गाडी तथा  माेटरसाइकलको विक्री पनि बढी हुन्छ । धेरै मानिसहरूले सवारी साधन किन्नको लागि धनतेरसकै दिनलाई पर्खन्छन् ।  सामान्य अवस्थामा भन्दा  धनतेरसमा धेरै बाइक तथा स्कुटर बिक्ने गरेको तिरुपति अटो प्यालेसका आकाश पराजुलीले बताए ।  उनका अनुसार  धनतेरसमा मात्र ५० भन्दा बढी बाइक तथा स्कुटरहरूको बिक्री हुन्छ ।

Loading...