fbpx

तिहारमा घट्यो झिलिमिली बत्तिको बिक्री

सुरेन्द्र मल्ल

विराटनगर, ७ कात्तिक । विराटनगरको बजारमा तिहारको चहलपहल बढ्दै गएपनि ‘झिलिमिली बत्ति’ खरिद गर्ने ग्राहकहरूको संख्यामा भने कमी आएको छ ।  अघिल्लाे वर्षहरूको तुलनामा याे वर्ष बजारमा तिहारमा प्रयाेग हुने ‘झिलिमिली बत्ति खरिद गर्ने ग्राहककाे संख्यामा कमि आएकाे हाे ।

इलेक्ट्रिक बत्तीकाे काराेबार बढेपनि  तिहारमा प्रयाेग हुने  बत्तिकाे  बिक्रीमा कमी आएको व्यापारीहरू बताउँछन् । विराटनगरस्थित श्याम इलेक्ट्रिकका सञ्चालक कैलाश तोदीका अनुसार तिहारका लागि सजावटमा प्रयोग गरिने बत्तिहरू प्राय पसलमा राखिएका छन् । तर बिक्री भने बिगत जस्ताे उत्साहजनक छैन् ।

पान पसलमा समेत तिहारमा प्रयाेग हुने बत्तिहरूको बिक्री हुने गरेकाे  बताउँदै उनले खुला सिमाका कारण विराटनगरकाे  व्यापार घटेकाे बताउँछन् ।

व्यापारीहरूबीचकाे प्रतिस्पर्धाले गर्दा  तिहारमा प्रयाेग हुने बत्तिहरूकाे मूल्य घटेकाे छ ।  कतिपय अवस्थामा पुरानै सामानहरूको पुनःप्रयोग हुने कारण पनि  व्यापारमा कमी भएको हुनसक्ने उनको आँकलन छ ।

इलेक्ट्रिक लाइट खरिद गर्न आएका जतुवा निवासी मुन्ना यादवले आफूले पालाहरू नै बढीमात्रामा प्रयोग गर्ने गरेको भएपनि बिजुली बत्तिहरू बढी आकर्षक हुने भएकाले खरिद गर्न आएको बताए । उनले भने, ‘पालाहरू पहिलेदेखि नै प्रयोग गरिरहेको छु । तर, आकर्षक हुने भएकाले अहिले झिलिमिलि बत्ति किन्न आएको हुँ ।’

श्याम ट्रेड एण्ड सप्लायर्सका सञ्चालक रुपेश अग्रवाल गत वर्षहरूको तुलनामा तिहारमा प्रयाेग हुने बत्तिकाे बिक्री ५० प्रतिशतले कम भएको बताउँछन् । यहीँ सिजनमा पहिले चालीसदेखि पचास हजारको दैनिक बिक्री गर्ने गरेकामा अहिले दिनको दस हजार बिक्री हुन पनि गाह्रो भएको उनको भनाइ छ ।

उनका अनुसार जोगबनीमा नजिक भएर पनि व्यापारमा केही कमी भएको हाे । पुरानो लाइटहरूको प्रयोगलगायत एलईडी. लाइटको बढ्दो प्रयोग कारणले गर्दा पनि यसपटक तिहारकाे बत्तिकाे व्यापारमा कमी भएको हुनसक्ने उनी बताउँछन् ।

स–साना इलेक्ट्रिक लाइटको तुलनामा एलईडी लाइट बढि टिकाउ हुने र आकर्षक हुने भएका कारण प्रायजसो ग्राहकहरू एलइडी लाइट खोज्ने गरेकाे उनले सुनाए । एलईडी लाइट लामो समयसम्म टिकाउ  हुने भएकोले पनि नयाँ लाइट खरिद गर्ने ग्राहककाे संख्यामा कमी भएको हुनसक्ने उनको भनाइ छ । यस्ता किसिमका लाइटहरू महंगोमा ३ सय ५० देखि ४ सय र सस्तोमा ३५ रुपैयाँसम्म बिक्री गरेको उनी बताउँछन् ।

इलेक्ट्रिक लाइटको कारण मैनवत्तिको प्रयोग पनि कम हुन थालेकाे छ ।

आयात पनि घट्याे

विराटनगर भन्सारका अनुसार तिहारका लागि प्रयाेग विजुली बत्तिकाे आयात पनि घट्दाे क्रममा छ । गत आर्थिक वर्ष २०७५-०७६ काे असाेजसम्म ९ कराेड १३ लाख ६० हजार मूल्य बराबरकाे १६ लाख ४४ हजार नाैं सय ५२ थान  बत्ति आयात भएकाे थियाे । साेही अवधीमा २ लाख ६७ हजार ९७४ थान छतमा बाल्ने बत्ति आयात भएकाे थियाे ।

चालु आर्थिक वर्षकाे असाेजसम्म भने ३ कराेड ९८ लाख २३ हजार मूल्य बराबरकाे ५ लाख ९४ हजार ८ सय ८७ थान बत्तिकाे आयात भएकाे छ । छतमा बालिने बत्तिकाे आयात भने बढेकाे छ । असाेजसम्म ६ लाख ३८ हजार ७७ पिस बत्ति आयात भएकाे  भन्सारकाे तथ्याङमा उल्लेख छ ।

Loading...