fbpx

नयाँ पुस्ताले ग्रहण नगरेपछि लोप भयो ‘विदापत’ नाच

विराटनगर, ७ कात्तिक । मोरङको सिसबनी जहादाका रामेश्वर मण्डल, पञ्चलाल मण्डल, हरि मण्डल, केशव मण्डलको उमेर ५५ देखि ६० वर्षको छ । बैस छँदा गाउँघर मात्र हैन परदेशमा समेत उनीहरू ‘विदापत’ नाच देखाउन पुग्थे । तर, बीस वर्ष पुगिसक्यो होला उनीहरूले यो नाच देखाएका छैनन् ।

पश्चिमा संस्कृतीकरणले गर्दा नाच नचाउने चलन हराएपछि उनीहरू फुर्सदिला बनेका हुन् । चारैतिर यो नाचको माग हुँदा उनीहरूलाई नाच प्रर्दशन गर्न जान भ्याइ–नभ्याइ हुन्थ्यो । त्योबेला उनीहरूको शानमान पनि बेग्लै थियो । सधैँ व्यस्त हुन्थे, आम्दानी पनि टन्न हुन्थ्यो । राम्रो नाच देखाएको भन्दै दान बक्सिस पनि टन्न पाउँथे । तर, आजकल उनीहरू घरमा सामान्य खेतीपाती गरेर जीवन धानीरहेका छन् ।

मैथिली संस्कृतीमा ‘विदापत’ नाच सामाजिक संस्कृतिको अभिन्न अंग मानिन्थ्यो । पहिले कसैको घरमा पूजा, विवाह, न्वारान, पास्नी, मुण्डन आदि कुनैपनि सामाजिक उत्सव भए ‘विदापत’ नाच नचाएर पाहुनाहरूलाई मनोरञ्जन गराउने चलन थियो । यो नाच नचाउँदा उत्सवको गौरव पनि बढ्थ्यो भने भरपुर मनोरन्जन पनि हुन्थ्यो । तर, आजकल पश्चिमी संस्कृतीको प्रभावले ‘विदापत’ नाच लोप भैसकेको छ । पहिले सक्दिँन र भ्याउँदिन भन्दा पनि धर नपाउने कलाकारहरू आजकल फुर्सदिला मात्र बनेका छैनन् उनीहरू नाच नाच्ने अन्तिम पुस्ताका कलाकार पनि बन्न पुगेका छन् ।

यसैले उनीहरूलाई आफ्नो जीवनको भन्दा पनि आफूहरूले नाँच्दै आएको नाच लोप भएको चिन्ताले बढी सताएको छ । जीवनभर ‘विदापत’ नाचेका कलाकार रामेश्वर मण्डल भन्छन्, ‘विदापत’ नाच मैथिल मौलिक संस्कृति हो तर नयाँ पुस्ताले नबुझ्दा हामीपछि त लोप नै हुनेभयो ।’ ‘विदापत’ नाच भगवान् कृष्णको जीवन चरित्रलाई आधार बनाएर नाचिने लोक नृत्य हो । यो एउटा गीति नाटक जस्तै नृत्य हो । यो नाच ऋतु र सयमअनुसार अवस्था हेरेर कृष्णको जीवन चरित्र चयन गरी नाच्ने गरिन्छ । जसमा कृष्णको बाललीला, दानलीला, भावलीला (राधा र कृष्णको लीला), दधिला (ग्वालाको लीला) र रासलीला (गोपीनीसँगको लीला) पर्दछन् ।

पूर्वी नेपाल र भारतको विहार राज्यको पूर्वी जिल्लाहरूमा प्रचलनमा रहेको यो नाच नाच्न जम्मा ६ जना मात्र कलाकार चाहिन्छन् । एक जना सुत्रधार हुन्छ । जसले चयन गरिएको कृष्णको लीलालाई गीतिलयमा संगीतमय शैलीमा कहन्छ । अर्को पात्र ‘बिक्टा’ हुन्छ (जसलाई जोकर भन्न सकिन्छ) । बिक्टाले सुत्रधारले कहेको संगीतमय कथालाई सामाजिक विकृती–विसंगतिसँग जोडेर व्यङ्ग्य गर्छ र सुत्रधारले उसको व्यंगलाई सुधार्दै गीतिलयमै जवाफ दिन्छ । अर्को एक जना पुरुष महिलापात्र बन्छ, ऊ आवश्यकताअनुसार राधा, यशोदा वा गोपनी बन्छ । उसले महिलाको पोशाक लगाएर मारुनीको रूपमा नाचमार्फत कला प्रर्दशन गर्छ ।

बाँकी तीन जना कलाकारहरू कथाको भाकाअनुसार बाजा बजाउन खटिन्छन् । एउटा लीला कम्तीमा पनि तीन घण्टाको हुन्छ । जुन निरन्तर चलिरहन्छ । यो नाच देखाउँदा कलाकारहरूले मञ्च प्रयोग गर्दैनन् । सडक वा आँगनलाई नै मञ्चको रूपमा प्रयोग गर्छन् । दृश्य पनि परिवर्तन हुँदैनन् । भेषभूषा एउटै हुन्छ । ‘विदापत’ नाचको संरक्षणमा जुटेका विराटनगरका नाट्य कलाकार निर्देशक रामभजन कामतका अनुसार यो नाच नाच्न कलाकारहरूमा भरपुर कलाको शक्ति चाहिन्छ । साधारण नाटकमा खेल्ने वा नाच नाच्ने कलाकारहरूले यो नाच नाच्न सक्दैनन् ।

‘विदापत’ नाच केही वर्षअघिसम्म मैथिल संस्कृतिमा लोकप्रिय थियो । सबैले विवाह, मुण्डन र अन्य सामाजिक संस्कारहरूमा कलाकार बोलाएर प्रर्दशन गराउँथे । तर, आजकल त्यो चलन हटिसकेको छ । त्यसको ठाउँमा बैण्डबाजा, भारी आवाज भएका साउड सिस्टम, सिनेमा संगीत र अर्केस्टाहरूले लिएका छन् । मिथिला संगीत तथा नाट्य कला प्रतिष्ठानको अगुवाइमा लोप हुन लाागेको मैथिल संस्कृतिको खोजमा जुटेका नाट्य कलाकार निर्देशक कामतका अनुसार ‘विदापत’ नाच नाच्ने कलाकारहरू सिंगो देशमा खोज्दा बल्ल मोरङको सिसबनी जहदामा चार जना निष्कृय अवस्थामा फेला पारेका थिए ।

त्यसपछि उनको समूहले भारत बिहार राज्यको अररिया जिल्लामा समेत खोजेर दुई जना कलाकार थपेर २१ बैशाखमा विराटनगरको आरोहरण गुरुकुलको शुशीला कोइराला नाटकघरमा नाच प्रर्दशन गराएका थिए । लोप हुन लागको नाच हेर्न भारतबाट आएका मैथिल साहित्यकार गौरीनाथले नाच हेरिसकेपछि भनेका थिए, ‘चालीस वर्ष यता मैले यो नाच हेर्न पाएकौ थिइँन आज बल्ल हेर्न पाएँ । नयाँ पुस्ताले ग्रहण नगर्दा मैथिल लोकसंस्कृती लोप भएर गैसक्यो ।’ सस्कृतिविदहरूका अनुसार ‘विदापत’ नाच पुस्ता हस्तान्तरण हुँदै आउने लोक नाच हो । तर, नयाँ पुस्ताले ग्रहण नगर्दा सिसवनी जहदाका कलाकारहरू नै यो नाचका अन्तिम पुस्ता हुन पुगेका छन् ।

मैथिल संस्कृतिमा झण्डै एक हजार वर्ष पुरानो मानिने यो नाच केही वर्षअघिसम्म मैथिल समाजकोे अभिन्न अंग थियो । यो नाच गाउँघरमा नचाउँदा सामाजिक प्रतिष्ठाको विषय हुन्थ्यो भने मानिसहरू पनि भरपुर मनोरञ्जन लिन्थे । नाच्ने कलाकारहरूको पनि खुबै प्रशंसा हुन्थ्यो । गाउँमा नाच हेर्न सयौँ मानिसहरू जम्मा हुन्थे । लोप प्रायः भइसकेको यो लोक नृत्यलाई जोगाउन तल्लिन रहेका जनकपुरका मैथिल साहित्यकार रमेश रन्जनका अनुसार आधुनिक बैण्डबाजा र भड्किलो सिनेमा संगीतको प्रयोगले गर्दा यो नाचलाई नयाँ पुस्ताले रुचाउन छाडेको हो । रञ्जन भन्छन्, ‘आजकल कुनैपनि पूजा, सामाजिक समारोहमा आफ्नो लोकनृत्य ‘विदापत’ नचाइँदैन बरु भड्किलो बाजा र सिनेमा संगीत नै लगाइन्छ ।’

विराटनगरका चित्रकार एससी सुमन पनि मैथिल संस्कृतीको अभिन्न अंग रहेको लोकनृत्य ‘विदापत’ नाच लोप भएकोमा चिन्तत छन् । उनी आफ्नो संस्कृती जोगाउन नयाँ पुस्ताहरूलाई सचेत हुन आग्रह गर्छन् ।’

Loading...