fbpx

लास सफा गर्ने जिउँदाहरूको जीवन दुर्गन्धित

बलदेव मरिक (५०) विराटनगरस्थित कोशी अस्पतालको पोष्टमार्टम विभागमा लास सफा गर्ने काम गर्छन् । २० वर्षदेखि उनी यो पेशामा छन् । दिलरुवा मरिक (५५) मोरङको पुरानो सदरमुकाम रंगेलीस्थित जिल्ला अस्पतालमा ३१ वर्ष लास सफा गरेर अवकास पाएका व्यक्ति हुन् । दुवै नेपाली नागरिक हुन् । समान काम गर्ने बलदेव र दिलरुबा लास सफा गर्ने कामसँग आफ्नो जीवनलाई तुलना गर्दै भन्छन्, ‘हामी ईश्बरबाट मान्छे बनाइयौँ तर समाजमा त अझ हाम्रो जीवन लासजस्तै छ ।’

धेरै जोखिम छ

लास सफा गर्ने काम चानचुने हैन । धेरै जोखिम छ । लास सफा गर्दा खुनको, सडेको दुर्गन्धको ग्यास लाग्छ । चिर्नुपर्दा आन्द्राको ग्यास लाग्छ । सारै गाह्रो हुन्छ । किरा परेका लासहरू पनि सफा गर्नुपर्छ । डाक्टर त परै बसेर अह्राउँछन् । हामीले नै धेरै जोखिम भोग्नुपर्छ । लासलाई उल्टाउनु, पल्टाउनुपर्छ । अह्राएअनुसार पेट, छाती चिर्नुपर्छ । अहो नभन्नुहोस् हजुर ! यो काम त कसैले पनि गर्नु नपरोस् । तर के गर्नु हामी बाँच्नका लागि बाध्य छौँ ।

सुरुमा धेरै डर लाग्थ्यो

सफाइ कर्मचारीमध्ये काममा ध्यान दिनेलाई पोष्टमार्टम विभागको सरसफाइ गर्ने जिम्मा दिइन्छ । यसैले हामीलाई पनि जिम्मा दिइएको हो । म कोशीमा गर्दैछु उहाँ (दिलरुबा) रंगेलीबाट रिटायर्ड हुनुभयो । सुरुमा त मान्छेको लास छुन पनि डर लाग्थ्यो । चिर्दा त झन् वाकवाकी नै हुन्थ्यो । तर पछि बिस्तारै बानी पर्दै गइयो । पहिले खाना खान पनि मन लाग्दैनथ्यो । तर, आजकल त्यस्तो हुँदैन । पहिले धेरै चिन्ता हुन्थ्यो, के गरौँ कसो गरौँ हुन्थ्यो तर पछि–पछि त लास घरबाट निस्केपछि सबै भुल्ने भैहाल्यौ । वास्तै लाग्दैन । पहिले डरलाग्दो सपना पनि देखिन्थ्यो । सपनामा मलाई चिरिस अब तँलाई पनि छाडदिन भन्थे लासहरूले ।

अचम्म–अचम्मका लास आउँछन्

लास धेरै प्रकारको हेरेका छौँ । झुण्डिएर, बिष खाएर र अनि कुटपिटबाट मरेको आदि धेरै खालको । अब हामी डाक्टर त हैनौँ । तर, लास हेर्दा–हेर्दा कुन लास कस्तो हुन्छ भन्ने अलिअलि अनुभव चाँहि भएको छ । झुण्डिएर मरेको छ भने जिब्रो टोकेको, घाँटीमा डोरीको डाम भएको, कुटपिट भएको हो भने चोटपटक हुन्छ । अनि विष खाएको रहेछ भने वान्ता लागेको र कसैकसैको त विषै पनि गन्हाउँछ । पानीमा डुबेर मरेको हुन्छ नि त्यो त फुलेर डबल भएको हुन्छ । हेर्दै भयानक हुन्छ । कुनै लास मर्नेबित्तिकै आउँछन् । त्यत्ति गन्हाउँदैन । तर कुनै–कुनै त किरा परेको पनि हुन्छ । धेरै गन्हाउँछ । पुलिसले हप्तौँ दिनपछि फेला परेको सडेको लास पनि ल्याउँछ । त्यस्तो लास पहिले हामी सफा गछौँ अनिमात्र डाक्टरले हेर्छन् ।

दाम एकदम थोरै छ

लास सफा गर्ने काम सारै मुस्किल काम हो । जोसुकैले गर्न सक्दैनन् । तर भत्ता साह्रै थोरै छ । शव पोष्टमार्टमा गरेको डाक्टरले पाँच सय र हामीले २ सय ५० रुपैयाँ मात्र पाउँछौ । मैले मात्र (बलदेव) अहिलेसम्म पाँच हजार लास सफा गरिसके हुँला । मैले पनि (दिलरुवा) दुई तीन हजार सफा गरें होला रंगेली अस्पतालमा ।

सफा गर्न साह्रै गाह्रो

लासघर साँघुरो पनि छ । पहिलेदेखि नै यस्तै हो । कुनैबेला धेरैबाट लास आउँछ एकै चोटी । त्योबेला लासमाथि लाख खप्टाएर राख्छौँ, के गर्ने । (म पनि त्यसै गर्थे रंगेलीमा (दिलरुवा) ।

वेवारिसे लास झन् टेन्सन

सनाखत भएको लास त पोष्टमार्टम भएपनि आफन्तले लान्छन् । समस्या हुँदैन । तर, वेवारिसे लास त टेन्सन नै हुन्छ । धेरैदिन राख्न पनि गाह्रो हुन्छ । गन्हाउँछ उस्तै । फेरि नगरपालिकाले एउटा वेवारिसे लास फालेको एक हजार मात्रै दिन्छ । वेवारिसे लास फेला परेको भए उठाउन जानुपर्छ । त्यसपछि सनाखत गर्न कोही आउँछ की भनेर पर्खनु पर्छ । यस्तैमा तीनदेखि पाँच दिन त बितिहाल्छ । पुलिसको कागज सबै बनिसकेपछि वल्ल फ्याँक्न सकिन्छ ।
लास फाल्न बक्सा पनि छैन

sdf
बलदेव मरिक

वेवारिसे लास घाटमा लगेर गाड्छौँ । अरु सफाइ कर्मचारीलाई अह्राउँछौ । खुल्ला रिक्सा ठेलामा राखेर ढुंङडुङ गन्हाएको अस्थामै लानुपर्छ लास । साह्रै दिक्क हुन्छ । गाडी छैन । लास लाने सुरक्षित बक्सा पनि छैन । पहिले नगरपालिकाले एउटा पुरानो ट्रयाक्टर दिएको थियो । तर आजकल त केही पनि छैन । लास फाल्ने सफाइ कर्मचारीलाई कुनै सुरक्षा सामग्री पनि हुँदैन । लासघरबाट निकालेर रिक्सामा राखेर कुदाउनुपर्ने बाध्यता छ ।

भो सन्तानलाई लास चिर्न दिँदैनौं

हामीलाई दिक्क लागेको छ, यस्तो नराम्रो काम गर्नुपर्दा । ईश्वरले हामीलाई मान्छे बनायो तर समाजमा हामी त पशुजस्तै छौँ । हामीलाई उसैपनि छुवाछुतले अपाङ्ग बनाएको छ । धेरै सुरक्षा जोखिम मोलेर काम गर्छौं । हजारौं रोगको घानीमा काम गर्छौं । तर, सबैले हामीलाई नै हेप्छन् । हामीले नै सबैभन्दा थोरै तलब पाउँछौ । यत्रो वर्ष भयो काम गरेको ख्वै हाम्रो मान्छे एक जना पनि पियनसम्म भएको छैन । हाम्रो कसैको बढुवा पनि भएको छैन । गुहुमूत सोहर्ने, लास सफा गर्ने कामको सधैँ रुटिङ उस्तै हुन्छ । सबैले होच्याएकै छन् । यत्रो जोखिमको काम गरेपछि त सम्मान हुनुपर्ने नि । अहँ अब आफ्नो सन्तालाई त लास सफा गर्ने काममा त लगाउँदै लगाउँदैनौँ ।

सफाइ कर्मचारीको जीवन लासजस्तै

हामीले भन्यौँ नि हाम्रो जीवन त लासजस्तै छ । के छ र ? हाम्रो ज्यानमा । सामाजिक सम्मान पनि छैन । पैसा पनि छैन । सधैँ एउटै काम, हेपिएर गर्नुपर्छ । अरु सबै कर्मचारीको आराम गर्ने कक्ष छ अस्पतालमा अब सफाइ कर्मचारीको छैन । हामी ड्युटीमा राति आफैँ विस्तारा (ओछ्यान) ल्याउँछौ अनि भुइँमा सुत्छौँ र बिहान लान्छौँ ।

sa
दिलरुवा मरिक

अरुको झुल, तन्ना तकिया, कोठाभित्र सबै छ । अरु कार्यालयमा पनि उस्तै त हो नि । ख्वै हामी बिरामी भएर आयौँ भने मात्रै त हो नभए त हाम्रो स्वास्थ्य जाँचेको र औषधि दिएको थाहा छैन । कसले वास्ता गर्छन र ? सबैले सरसफाइ भएन भनेर लेख्छन् तर किन सरसफाइ भएन, के दुःख छ भनेर कहिल्यै सोध्दैनन् ।

Loading...