fbpx

पत्रपत्रिकामा प्रदेश : अवैध उत्खनन् गर्ने स्काभेटर कारबाही नगरी छाडियो

विराटनगर ७ कात्तिक । सुनसरी र मोरङको सीमामा रहेको केसलीया खोलाको पुल र सिंगो बस्ती नै जोखिममा हुने गरि अवैध रुपमा खोलाको माटो उत्खनन् गर्ने स्काभेटरलाई कारबाही नगरी छोडिएको छ ।

ब्लाष्ट टाइम्समा छापिएको खबर अनुसार दुहबी नगरपालिका १२ बुगढरी बस्ती र विराटनगर ४ इक्राहीको बीचमा रहेको बुढी (केसलीया) खोलामा पुल नै जोखिममा पर्ने गरी उत्खनन् भइरहेको बेला मोरङ प्रहरीले टोलीले सोमबार स्काभेटर, ७ वटा टिपर र ४ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो ।

आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय दुहबीको जिम्मा लगाइएको सवारी साधन दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारको आदेशमा कुनै कारबाही नगरी छोडिएको हो । बा १ क ४९६२ नम्बरको स्काभेटरले उत्खनन् गरि ७ वटा टिपर र ४ वटा ट्याक्टरमा लोड गरि माटो उठाइरहेको बेला पक्राउ गरिएको भएपनि सडकको काममा प्रयोग भएकोले कुनै कारबाही नगरी छोडिएको उनको भनाई छ ।

औषधि पसलबाट लागु औषधको कारोबार बढ्दै गरेको समाचारपनि ब्लाष्ट टाइम्समा छापिएको छ । सुनसरीको दुहबी क्षेत्रमा मंगलबार औषधि पसलबाट लागु औषध खरिद गरेका युवालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको बयानको आधारमा औषधि पसल सञ्चालकलाई समेत पक्राउ गरिएको छ ।

दुहबीको वीर मेडिकल हलका संचालक मोरङको बुढीगंगाा ७ का राहुल उराँव र सुन्दरहरैचा ३ का सुमन मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले औषधि पसलबाटै लागु औषध बिक्रि गर्ने क्रम बढेको बताए ।

रहस्यमय हत्याका आरोपी २ वर्षपछि पक्राउ परेको समाचार उद्घोष दैनिकमा छापिएको छ । स्थानीय तहको चुनावको बेला एक वृद्धको हत्या गरी फरार भएका एक जनालाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको छ । रंगेली ९ का पहाडचन्द राजवंशीको हत्यामा संलग्न भएको आरोपमा स्थानीय १९ वर्षीय भरतलाल राजवंशी पक्राउ परेका छन् । भरतलालका बाबुको मृत्यु भएपछि बोक्सा आरोप लगाउँदै उनले हत्या गरेको हुन् ।

ताप्लेजुङको प्रसिद्ध धार्मीक स्थल पाथीभारामा अहिले दर्शनार्थीहरुको घुँइचो लाग्न थालेको समाचार कान्तिपुर दैनिकमा छ । कात्तिक ५ गते यो सिजनको सबै भन्दा बढी ८ हजार २ सय ७३ जनाले मन्दिरमा दर्शन गरेको प्रहरी इन्चार्ज धनबहादुर लिम्बूले बताए । यस अघि शनिबार ६ हजार ४ सय ५३ जनाले दर्शन गरेका थिए । पाथीभारामा धेरै तीर्थयात्री जाने महिनाहरुमा असोज, कात्तिक, चैत र बैसाख महिना रहेको छ ।

Loading...