visit-nepal

रुघाले नाक बन्द भएमा के गर्ने ? यस्ता छन् घरेलु उपायहरू

विराटनगर, ६ कात्तिक । मौसम परिवर्तन हुनेबितिक्कै शरीरले प्रतिक्रिया देखाउन थाल्छ । कुनै मानिसको शरीरको रोग प्रतिरोधात्मक क्षमता कम भएमा उसले बाहिरी वातावरणमा भएको किटाणुहरूसँग लड्न नसक्ने हुँदा विभिन्न रोगहरू लग्न सक्छ । मौसम परिवर्तन हुनासाथ देखा पार्ने समस्या भनेको नाक बन्द हुनु, रुघाखोकी लाग्नु र घाँटी खसखस हुनु हो ।

सामान्य देखिने उक्त रोगले दैनिक क्रियाकलापमा निकै बाधा पुर्याउने गरेको हुन्छ । आजकल मानिसहरू बन्द नाक खोल्नका लागि मेडिकलबाट औषधि तथा अनेक सामान ल्याउने गरेको पाइन्छ । तर, बजारमा पाइने यस्ता सामग्रीहरूभन्दा पनि सजिलै तरिकाले घरेलु उपाय अपनाउनु नै ठीक हुन्छ ।

कागती हालेको चियामा चिनीको साटो मिठासका लागि सानो चम्चा मह हालेर पिउने गर्दा तत्कालै बन्द भएको नाक खुल्छ । केही तुलसीको पात चपाउने गर्दा पनि बन्द भएको नाक खुल्ने गर्छ । एउटा सफा रुमाललाई तातो पानीमा भिजाएर बन्द भएको नाकमा राखेर सेक्ने गर्दा पनि केही हदसम्म आराम पाइन्छ ।

पानी उमालेर त्यसमा पुदिँनाका केही पातलाई पिसेर दुई मिनेटपछि पानीको बाफ लिनु पर्छ । दिनमा दुईदेखि तीनपल्ट यसो गर्दा बन्द भएको नाकमा धेरै राहत पाउनुका साथै रुघा लागेको समेत निको हुन्छ । पानीमा नुन हालेर मज्जाले घोल्नु पर्छ र उक्त पानीले नाक धुनुपर्छ । त्यसो गर्दा नाकमा भएका ब्याक्टेरिया र भाइरस मरेर नाक खुलेर आराम हुने गर्छ ।

एक कप मनतातो पानीमा दुई चम्चा मह हालेर पिउने गर्दा नाक खुल्नुका साथै घाँटी खसखस भएको पनि हराउँछ । असाध्यै खोकी लगेर हैरान भएको खण्डमा एउटा सानो टुक्रा अदूवालाई आगोमा पोलेर मुखमा राखेर त्यसको रस चुसीरहँदा खोकी लागेको कम भएर घाँटीमा आराम मिल्छ । पानीमा तुलसीको पात, मरिचको धूलो, नुन, बेसर तथा ज्वानो राखेर ५ मिनेट उमालेर राखेको झोललाई दैनिक दुईदेखि तीनपटक पिउँदा खोकी लागेको च्वाट्टै निको हुन्छ ।

Loading...