fbpx

अबको तीन वर्षभित्र सबैको घरमा बिजुली पुग्छ : ऊर्जामन्त्री पुन

चितवन, ६ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको तीन वर्षभित्रमा सबैको घरमा बिजुली पुग्ने बताएका छन् । भरतपुर महानगरपालिकाले बुधबार चितवनमा आयोजना गरेको नारायणी नदी तटबन्धनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले तीन वषभित्र सबै नेपालीको घरमा बिजुली बल्ने बताएका हुन् ।

यस आर्थिक वर्षमा ४१ जिल्ला पूर्ण विद्युतीकरण हुने बताउँदै मन्त्री पुनले सो कामका लागि चालु आर्थिक वर्षमा रु २८ करोड बजेट छुट्टा्याइएको बताए । उनले ४१ जिल्लामध्ये चितवन पनि पर्ने जानकारी दिँदै भने ‘तीन वर्षभित्र देशभरि पूर्ण विद्युतीकरण हुनेछ ।’

यसैगरी मन्त्री पुनले प्रधानमन्त्रीको पानी जहाजको सपनालाई साकार पार्न नारायणी नदीमा पानीजहाज चलाउने अवधारणालाई अगाडि बढाइएको बताए । ‘दासढुङ्गादेखि भारतको सिमानासम्म पानीजहाज चलाउन सकिने अध्ययनले देखाएको छ,’ उनले भने । उनले सबै स्थानमा डेढमिटर पानी भएमा २ सय ५० देखि ३ सय कन्टेनर बोक्ने पानीजहाज नारायणी नदीमा चल्ने अध्ययनले देखाएको बताए । कोशी नदीभन्दा नारायणी अझ राम्रो देखिएको भन्दै उनले यसबाट पनि भरतपुरको सम्भावना अरु बढी रहेको बताए ।

मन्त्री पुनले भरतपुर महानगरलाई उज्यालो बनाउनका लागि स्मार्ट सडक बत्तीको अवधारणालाई अगाडि बढाइएको बताए । मन्त्री पुनले रु २० करोडको लागतमा भरतपुर महानगरमा स्मार्ट सडक बत्ती जडान गर्न लागिएको जानकारी दिए । उनले भने, ‘नेपाल सरकारले एउटा नमूना परियोजनाका रुपमा भरतपुरमा स्मार्ट सडक बत्ती जडान गर्दै छ । आकाशमा जहाजमा उड्नेले पनि उज्यालो भरतपुर देख्ने छन् ।’

ऊर्जामन्त्री पुनले सरकार कानून निर्माण र सङ्घीय व्यवस्थाअनुरूप तीन वटा तहको सरकार सञ्चालनको सिकाइमा रहेको र योजनाबद्ध र दिगो विकासको लक्ष्यसहित अगाडि बढिरहेको बताए । उनका अनुसार यसवर्ष सरकारले नदी नियन्त्रण र तटबन्धनको लागि करीब रु छ अर्बको बजेट विनियोजन गरेको छ । उनले नारायणी तटबन्धनका लागि बजेट अपुग हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

Loading...