fbpx

चैत्रमा छर्न सकिने जुटको बिउमा अनुसन्धान हुँदै

राजन केडी
इटहरी, ६ कात्तिक । इटहरीको जुटबाली अनुसन्धान केन्द्रले चैत्रमा छर्न सकिने जुटको प्रजनन् बिउ उत्पादन थालेको छ । जुट अनुसन्धान कार्यक्रमअन्तर्गत रानी र जे. आर. ओ. २०४ चार नाम दिएर जुटको बिउ अनुसन्धान थालिएको हो ।

गत असारमा जुटबाली अनुसन्धान कार्यक्रम संयोजक डा. गोविन्दप्रसाद तिम्सिनाको नेतृत्वमा जुट अनुसन्धान प्राविधिकहरू विनोद गुप्ता र सुजन कार्कीसहितको टोली सम्भाव्यताबारे बुझ्न भारतको क्राइजाफ जुट अनुसन्धान केन्द्र गएको थियो । सो टोलीले चैत्र महिनामै रोप्न सकिने एक सय ग्राम जुटको बिउ ल्याएर साउनमा १० धुर जमिनमा छरेर बिउमा नयाँ अनुसन्धान गरिरहेको छ । यो नयाँ अनुसन्धानको जुट अहिले ५ फुटजति अग्लो भएको छ ।

अनुसन्धान केन्द्रका संयोजक डा. गोविन्दप्रसाद तिम्सिनाले जुट नयाँ बिउ अनुसन्धानमा सफल हुँदै गएको बताए । उनले भने– ‘यो बिउ उत्पादन सफल भएपछि जुट किसानले चैत्रमै रोप्न सक्छन् ।’ यसभन्दा अघि उत्पादन गरिएका बिउ बैशाख, जेठमा मात्र रोप्न सकिने थिए । तिम्सिनाले १०० ग्रामबाट ५ केजी जुटको बिउ उत्पादन हुनसक्ने अनुमान गरे । उनले भने– ‘त्यसबाट हामी किसानलाई बिउ वितरण गर्न सक्ने गरी अरु उत्पादन गर्छौं ।’ यो जातको जुट १२० दिनमै काट्न सकिन्छ । साथै आकाशे पानीको भर नपरी जमिन सिचाइँ गरेर पनि यो जुट रोप्न सकिने तिम्सिनाको भनाइ छ । जुट चैत्रमा रोप्दाहाँगा नफाट्ने र फुल्न पनि नफुल्ने हुँदा किसानका लागि यो फाइदाजनक हुने उनको भनाइ छ ।

sadf

उनका अनुसार बिउ उत्पादन सफल भएपछि झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र धनुषाका किसानले बिउ पाउनेछन् । केन्द्रले आर्थिक वर्ष २०७४/०७५ मा जुटका विभिन्न अनुसन्धान सफल र उत्कृष्ट रहेको प्रतिवेदन पनि सार्वजनिक गरेको छ । जुटको प्रारम्भिक जातीय अध्ययनअन्तर्गत परीक्षण गरिएका जातहरूमध्ये इटहरी–२ ले सबैभन्दा बढी प्रति हेक्टर ३.४६ टन उत्पादन दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । एड्भान्स जातीय परीक्षणमा जे.आर ओ–५२४ रेशा उत्पादनको दृष्टिले उत्कृष्ट देखिएको प्रतिवेदनमा जनाइएको छ । यसले प्रतिहेक्टर २.५६ टन उत्पादन दिएको थाहा भएको छ । सण्ठीको उत्पादनमा यसले प्रति हेक्टर ४.९४ दिएको थियो ।

सिचाइँयुक्त जमिनमा ओ–४ जातको तोषा जुटले बढी सुख्खा सण्ठी १२.६४ टन प्रतिहेक्टर उत्पादन भएको थियो । साथै यसको बिरुवाको उचाई ३८३.६७ सेमी रहेको थियो । यहाँ अनुसन्धान गरिएकामध्ये वाइ ए–०६३ ले प्रतिहेक्टर २.८३ टन र वाइ ए–२३ ले प्रतिहेक्टर २.८२ टन सुख्खा रेशा उत्पादन दिएको थियो । त्यसैगरी जे. आर. ओ.–१०२ ले १.८६ उत्पादन दिएको थियो ।

त्यसैगरी, बिआरडी–एसआरडी–०६१ ले प्रतिहेक्टर ६.२३ टन उत्पादन दिएको थियो । यसको बिरुवाको उचाइ पनि २६९ से.मी. मात्र थियो । त्यसैगरी, वाइ ए–०६३ ले २.८६ टन प्रतिहेक्टर वाइ ए–२३ ले २.८२ टन प्रतिहेक्टर सुख्खा रेशा उत्पादन थियो ।

यहाँ जुट प्रशोधनका क्रममा किसानले झेल्नुपर्ने झन्झट अन्त्य गर्ने प्रविधि पनि भित्र्याइएको छ । उत्पादित जुटको सन्ठीबाट रेसा छुट्याउने प्रविधि ‘जुट पिलिङ मेसिन’भित्र्याइएको हो । सन्ठीलाई टुक्राएर रेसा अलग गर्ने काम पिलिङ मेसिनले गरेपछि सानो पोखरीमा रेसालाई डुबाएर दस दिनसम्म राखेपछि कच्चा जुट तयार हुने बताइएको छ । सन्ठीसँगै पानीमा राखेर रेसालाई अलग गर्नुपर्ने काम किसानका लागि जटिल र समस्या बन्ने गरेको थियो ।

परम्परागत तरिकाबाट जुट कुहाउँदा हरियो जुट छोप्न प्रयोग गरिने सामानहरूमध्ये जलकुम्भीको प्रयोग गर्दा छिटो कुहिने, जुटको रेशाको रंग सफा हुने, रेशा बलीयो हुने र गुणस्तर राम्रो हुने केन्द्रले किसानलाई सुझाव दिएको छ । यसरी उत्पादन गरिएको रेशाले उचित मूल्य पाउने सम्भावना हुन्छ ।
यो केन्द्रलाई नेपालमा जुट खेती अध्ययन गर्ने एक मात्र निकायका रूपमा लिइन्छ ।

Loading...