fbpx

छुवाछुत पीडित डिमोने कामी एक हजार धरौटीमा छुटे

विराटनगर, ६ कात्तिक । जातीय छुवाछुत गर्नेलाई कानूनी कारवाही माग गर्दा पक्राउ परेर अभद्र व्यवहारको मुद्दा भोग्न बाध्य भएका पीडित डिमोने कामी धरौटीमा थुनामुक्त भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले पीडित डिमोनेलाई मंगलबार १ हजार रुपैयाँ धरौटी लिएर थुनामुक्त गरेको हो ।

२० असोजमा डिमोने कामीलाई पथरीशनिश्चरे नपा–९ बजारस्थित पथरीशनिश्चरे बजारमा ४५ वर्षीय टलकबहादुर पाण्डेको होटलमा सानो जाति भन्दै चिया खाने बेलामा छुवाछुत गरिएको थियो । दसैँ सकिएलगत्तै पीडित डिमोनले दलित अधिकारकर्मीहरूको सल्लाहमा छुवाछुत आरोपीहरू पाण्डे र पथरीशनिश्चरे नपा–४ जरायो टोल निवासी ७५ वर्षीय रुद्रबहादुर कटुवालविरुद्ध २८ असोजमा इप्रका पथरीमा जातीय विभेद तथा छुवाछुत कसुर ऐन २०६८ अनुसार किटानी जाहेरी दर्ता गराएका थिए ।

किटानी जाहेरी परेपछि प्रहरीले छुवाछुत आरोपीहरूलाई २९ असोजमा पक्राउ गरेर अदालतमा म्याद थप गराएको थियो । यता, छुवाछुत आरोपी होटल सञ्चालकका आफन्तले आफूहरूले छुवाछुत नगरेको बरु उल्टै डिमोनेले होटलमा जबर्जस्ती पसेर गालीगलौज गरेको भन्दै उजुरी दिएपछि प्रहरीले डिमोनेलाई पनि पक्राउ गरेर ३० असोजमा अभद्र व्यवहारमा जिल्ला प्रशासन मोरङमा मुद्दा दर्ता गराएको थियो ।

छुवाछुतको व्यवहार भोग्ने पीडितलाई नै पक्राउ गरेर मुद्दा लगाएको भन्दै दलित संघसंस्थाहरू आन्दोलित बनेका थिए । घटनाको राष्ट्रिय मानव अधिकार आयोग एक नम्बर प्रदेश कार्यालयले पनि अनुगमन गरेको थियो ।

Loading...