fbpx

जापानका सम्राटको औपचारिक राजगद्दि आरोहण

टोकियो ४ कात्तिक । जापानी सम्राट नारूहितोले जापानी उच्च धार्मिक विधिपूर्वक मङ्गलबार विहान ९ बजे औपचारिकरूपमा राजगद्दि आरोहण गरेका छन् । परम्परागत रुपमा जापानको राजधानी टोकियोस्थित राजदरबारको सेइडेन स्टेट हलमा राज्याभिषेक समारोहको आयोजना गरिएको थियो ।

विश्वभरबाट निम्त्याइएका करिब २ हजार अतिथिको अगाडि पूर्व सम्राट तथा आफ्ना पिता अकिहितोको उपस्थितिमा ५९ वर्षीय नारुहितोको राज्य आरोहण भएको हो । सम्राट अकिहितोले राजगद्दी परित्याग गरेपछि नारुहितो यसै बर्ष मे महिनामा जापानको सम्राट बनेका हुन् । समारोहमा विभिन्न परम्परागत विधि सम्पन्न भएपछि मात्रै नारूहितोको औपचारिक राजगद्दी आरोहण भएको हो ।

जापानी सम्राटले विशेष अवसरमा लगाउने परम्परागत वस्त्र धारण गरेर नारुहितो साढे ६ मिटर अग्लो ताकामिकुरा (राजगद्दी)मा बसेका थिए । उनले त्यहाँबाट लिखित मन्तव्य वाचन गरे । सम्राट अकिहितोले ३० बर्ष राजगद्दिमा रहँदा सँधै जापानी जनता र विश्व शान्तिका लागि प्रार्थना गरेको बताए । सम्राट अकिहितोले जनताको दुःख तथा सुखमा सधैँ सँग रहने गरेको भन्दै अकिहितोको प्रसंशा गरे । कार्यक्रममा साम्राज्ञी मासाको जापानी परम्परागत पहिरनमा सम्राटसँगै रहेको अर्को आसनमा बसेकी थिइन् ।

जापानी प्रधानमन्त्री सिन्जो आवेले सम्राट नारूहितोको राज्य आरोहणप्रति खुशी व्यक्त गरे । प्रधानमन्त्री शिन्जो आबेले समारोहमा सम्राटलाई बधाई ज्ञापनसमेत गरे ।

जापानमा भर्खरै समुद्री आँधी हगिबिसका कारण धनजनको क्षति भएकाले पीडितहरूप्रति सहानुभूति प्रकट गर्न राजगद्दी आरोहणका अवसरमा आयोजना गरिने शोभायात्रा भने स्थगित गरिएको छ ।

Loading...