fbpx

मैत्रीपूर्ण खेलका लागि नेपाली टोली कतार जादै, बिमल टोली बाहिर

काठमाडौं, ५ कात्तिक । नेपाली २३ वर्ष मुनीको राष्ट्रिय टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलकालागि कतार जाने भएको छ । नेपालमा आयोजना हुने १३औंँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीकालागि म्यानमारसँगको टोलीसँग मैत्रिपूर्ण खेल खेल्न नेपाली टोली कतार जाने भएको हो ।

कतारस्थित दोहा रङ्गशालामा हुने उक्त खेल कात्तिक ८ गते हुनेछ । जसकालागि नेपाली टोली आज राति दोहा प्रस्थान गर्नेछ । उक्त मैत्रीपूर्ण खेलमा सहभागिता जनाउने २४ खेलाडीसहित ३२ सदस्यीय नेपाली टोलीलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकूद परिषद् र अखिल नेपाल फुटबल सङ्घ एन्फाले बिदाई गरेको हो ।

नेपाली टोलीमा नवयुग श्रेष्ठ, अनन्त तामाङ, अञ्जना विष्ट, विक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी, तेज तामाङ, अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापामगर, छिरिङ गुरुङ र अर्पन कार्की छन् ।

टाेलीमा दीप कार्की, देव लिम्बू, विकास खवास, रोमन लिम्बू, नितिन थापा, सेसेहाङ आङदेम्वे, मिक्चेन तामाङ, रामचन्द्र वाजी, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजीव लोप्चन, र सुमन अर्याल छन् ।

नेपाली टोलीका स्टार खेलाडी बिमल घर्तीमगर भने टोलीमा अटाएका छैनन् । गोल रक्षक किरण चेम्जोङ, रोहित चन्द पनि कतार जाने टोलीमा परेनन् ।

Loading...