fbpx

शरीरमा आउने मुसा, एक किसिमको छालाको रोग

गाला, आँखी भौ, आँखाको परेली, नाकको टुप्पो, निधारमा वा शरीरको अन्य भागमा मासुको डल्लो पलाएको हुन सक्छ । उक्त मासुको डल्लोलाई मुसा अर्थात् बिज्ञानको भाषामा वार्टस भनिन्छ ।

अनुहारमा यसरी आएको मुसाले सौन्दर्यमा नै नराम्रो प्रभाव परिरहेको हुन्छ । सामन्यतया शरीरमा देखिने मुसाहरुको रंग कालो, खैरो, सेतो, रातो हुने गर्छ । छालाको रंग जस्तै वा कोठी जस्तै पनि देखिने हुँदा मानिसलाइ मुसा आएको थाहा हुँदैन र उनीहरू यस बारेमा ध्यान पनि दिदैनन् ।

जन्मिएपछि देखा पर्ने मुसाको मुख्य कारण भनेको ईन्फेकसन हो । मुसा एक किसिमको छालाको रोग हो । शरीरमा मुसाहरु आउनुको कारण एक प्रकारको ह्युमन पेपिलोमा नामक भाइरसले गर्दा हुन्छ ।

छालामा भाइरसका कारण स–साना, खस्रो, कडा खालको दानाहरु पलाउने गर्छ जुन छुदा पनि दुख्दैन् । केही प्रकारका मुसाहरु शारीरिक सम्पर्कको माध्यमले पनि फैलिन सक्छ ।

मुसा तोरीको दानादेखि अंगूरको आकार जत्रो हुनसक्छ । मुसा शरीरको एक ठाउँबाट अर्को ठाउँमा सर्दै जाने हुदा यो शरीर भरि फैलिन सक्छ ।

साधारण देखिने मुसा कहिले काही क्यान्सरको कारण पनि बन्न सक्छ । यदि कुनै व्याक्तिमा ३० बर्षको उमेरपछि मुसा पलाएमा क्यान्सरका हुने खतरा बढी रहन्छ । यस्तो स्थितिमा मुसालाई मेडिकल ट्रिटमेन्ट गरी हाटाउनु पर्ने हुन्छ । धेरैजसो शरीरमा देखिने मुसाहरु छालाको सतह भन्दा आलिक माथि उठेको खस्रो सतह भएको, आकारमा यो गोलो, अन्डाकार, च्याप्टो किसिमको वा चिल्लो मुलायम पनि हुन सक्छ ।

कुनै मुसा यताउति हल्लिने खालको, छुदा दुख्ने खालको, कडा खालको र पानी पर्दा फुल्ने खालको हुन्छ । हुनत मुसा ६ महिनादेखि बर्ष दिनभित्र आफै हराएर जान थाल्छ । त्यसको लागि कुनै विषेश उपचार गरिहाल्नु पर्दैन । मुसालाई ब्लेड, चक्कु वा कैचीले काट्नु हुँदैन । मुसालाई डाम्ने, काट्ने वा फुटाउने गर्नाले मुसाको भाइरस शरीरको अन्य भागमा परेर अझ बढी मात्रा शरीरमा मुसाहरु पलाएर आउँछ ।

शरीरमा भएको कुनै मुसा चिलाउने वा मुसाबाट रगत आएमा, नजर अन्दाज गर्नु हँुदैन । यस्तो अवस्थामा तुरन्त चिकित्सकसँग परामर्श लिनुपर्छ । शरीरका बिभिन्न भागमा रहेका मुसाको उपचार विभिन्न प्रकारको विधिबाट गरिन्छ । डाक्टरको परामर्शमा मुसालाई भौतिक रुपले नष्ट गर्ने, करेन्टले डामेर वा लेजर प्रबिधिबाट मुसालाई हटाउने गरिन्छ ।

Loading...