fbpx

‘धुर्मुस–सुन्तली’ को ‘सेन्टी भाइरस’ को छायाकंन सकियो

काठमाडौं, ५ कात्तिक । चर्चित कलाकार तथा सामाजिक अभियान्त सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’ को छायाकंन सकिएको छ । हास्य टेलिसिरियल ‘मेरी बाँस्सै’ बाट ‘धुर्मुस–सुन्तली’ नामबाट चर्चित बनेका सिताराम र कुञ्जनाले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’को छायांकन सकिएको हो ।

सामाजिक व्यंग्यमा आधारित रहेर करीब १ महिनाको समयमा एक गीत बाँकी राख्दै फिल्मको सुटिङ प्याकअप गरिएको हो । शैलेन्द्र डि. कार्कीको छायांकनमा बनेको फिल्मलाई पोखरा र रुपाकोटमा छायांकन गरिएको छ ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्ममा सिताराम र कुञ्जनाको प्रमुख भूमिका रहनेछ । साथै, फिल्ममा दयाहाङ राई, राजाराम पौडेल, विल्सनविक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

सुबिहानी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा डिन्डु लामा ह्योल्मो र उनका भाई फुर्पाको लगानी रहेको छ । कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको फिल्ममा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ । फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गर्दैछन् ।

करिब दुई करोड लगानीमा तयार हुन लागेको ‘सेन्टी भाइरस’को मुनाफाको १५ प्रतिशत रंगशाला निर्माण र ५ प्रतिशत चलचित्र कलाकार संघको भवन निर्माणका लागि हस्तान्तरण गरिने भएको छ । ‘सेन्टी भाइरस’ बाट पहिलो पटक ‘धुर्मुस(सुन्तली’ फिल्म निर्माणमा होमिएका हुन् ।

पहिलो पटक अभिनेत्रीको रुपमा देखिन लागेकी कुञ्जनाले फिल्ममा अभिनय गर्ने आफ्नो बाल्यकाल देखिको रहर पूरा भएको बताएकी छन् । निर्देशक रामबाबुले पनि फिल्मलाई उत्कृष्ट बनाउने कुनै कसर बाँकी नराखेको बताए । फिल्मको प्रि प्रोडक्सनको काम भइरहेको र सबै काम सकेपछि फिल्मको प्रदर्शन मिति सार्वजनिक हुने भएको छ ।

Loading...