fbpx

सिस्नु बिक्रीका लागि बजार खोज्दै महिला

मेलम्ची, ५ कात्तिक । सिस्नुको पाउडर उत्पादन सुरु भएपछि महिलाहरु बजारीकरण गर्न जुटेका छन् । इन्द्रावती गाउँपालिका–२ कुञ्चोकमा उत्पादित सिस्नुको पाउडर बजारीकरण गर्ने अभियानमा महिला सक्रिय बनेका हुन् । गाउँमै गरिएको सिस्नु खेतीबाट भएको उत्पादनलाई अग्र्यानिक बनाएर बिक्री गर्न महिला एकजुट भएका छन् ।

कुञ्चोकका महिलाले बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यले खेतबारीका केही भागमा सिस्नुलाई व्यावसायिकरूपमा लगाएका हुन् ।

कुञ्चोक जौडाँडाकी निर्मला सुनारले सिस्नु खेती व्यावसायिकरूपमा विकास भएको बताए । शुरुमा सिस्नु खेती गर्दा गाउँवासीले गिज्याए पनि अहिले यसले व्यावसायिक रूप दिएपछि अन्य महिला पनि यसतर्फ आकर्षित भएका उनले बताइन् ।

“अब सिस्नुको धुलो प्याकेटमा बिक्री गर्छौँ, चाहिएमा हरियो सिस्नु पनि उपलब्ध गराउँछौँ”, उनले भनिन् । माग आएअनुसार मेलम्ची र चौतारा बजारसम्म यहाँको उत्पादन पुग्ने गरेको छ । धेरै लगाएर सिस्नु बेच्ने भन्ने छलफल सहकारीमा चलेपछि महिलाले यसको खेती शुरु गरेका हुन् ।

सिस्नु उत्पादन र बिक्रीका बारेमा शुरुमा १० जना महिलाले कृषि उत्पादनमा सिस्नुलाई रोजेका हुन् । अहिले गाउँका अन्य महिलाले समेत सिस्नु खेती गरेका छन् । सिस्नुबाट महिला समूहले अहिलेसम्म मासिक रु १५ हजारसम्म आम्दानी गर्दै आएको छन् । रासस

Loading...