fbpx

आन्दोलन ब्यापक भएपछि लेबनानका प्रधानमन्त्री हरिरिद्वारा आर्थिक सुधारको घोषणा

बेरूत ४ कात्तिक । लेबनानमा जारी आन्दोलन व्यापक बन्न थालेपछि प्रधानमन्त्री साद हरिरिले आर्थिक सुधारको योजनालाई अनुमोदन गरेका छन् । लेबनानको मन्त्रीपरिषद्द्वारा सन् २०२० को बजेटमा आर्थिक सुधारका लागि सरकारले प्रस्तुत गरेको योजनालाई अनुमोदन गरेको प्रधानमन्त्री साद हरिरिले बताए ।

सरकारले व्यापक कर वृद्धि गरेको, आर्थिक सम्वृद्धिका लागि कुनै काम गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र सुशासन कायम गर्न असफल भएको भन्दै गरेको आन्दोलनमा क्रमशः जनताको आकर्षण बढेपछि सरकारको यस्तो निर्णय आएको हो । आन्दोलकारीले भने प्रधानमन्त्रीकै राजीनामा माग्दै आएका छन् ।

देशव्यापी आन्दोलनको पाँचौँ दिन आगामी बर्षको कार्यक्रममा व्यापक आर्थिक सुधारका कार्यक्रमलाई बजेटमार्फत् सम्बोधन गरिने सरकारको प्रस्तावपछि प्रतिपक्षीको आन्दोलन सेलाउने अपेक्षा प्रधानमन्त्री हरिरिको छ ।

मन्त्रीपरिषद्को वैठकपछि टेलिभिजनमार्फत् प्रत्यक्ष प्रशारण भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले मन्त्रीपरिषद्बाट पारित आर्थिक सुधारका उपाय प्रदर्शनलाई साम्य पार्न मात्र नभएको बताए । आन्दोलनले सरकारलाई देश विकासका लागि थप सोच्न वाध्य बनाएको उनको भनाई छ । प्रदर्शनकारीको माग अनुसार निर्धारित समयभन्दा पहिले नै संसदीय निर्वाचन गर्न समेत तयार भएको प्रधानमन्त्री हरिरिले बताए ।

लेबनानमा नौ बर्षपछि गत बर्ष भएको निर्वाचनबाट हरिरिको पार्टी सरकारमा गएको थियो । निरन्तर आठ महिनाको प्रयासपछि हरिरिले सरकारको नेतृत्व पाएका हुन् । तर लेबनानी जनताको अपेक्षा विपरित मतपरिणाम आएपछि निर्वाचनमा व्यापक धाँधली भएको आरोपसमेत लागेको थियो ।

Loading...