fbpx

निश्चलको ‘दिमाग खराब’, अभिनय गर्नु बाध्यता र रहर दुवै

विराटनगर, ४ कात्तिक । चर्चित निर्देशक तथा अभिनेता निश्चल बस्नेतले फिल्म ‘टकलजंग भर्सेस टुल्के’ पछि यो नाममा फिल्म बनाउने तयारीमा रहेका थिए । तर, ४ वर्ष अगाडी चलचित्र विकास बोर्डमा निश्चलले फिल्मको नाम दर्ता नै नगरि घोषणा गरेपछि अर्कै कम्पनीले फिल्मको नाम कपि गरेर दर्ता गराएको थियो । निश्चलको हातबाट ‘दिमाग खराब’ उम्किएपछि उनले ‘लुट २’ बनाएका हुन् ।

चलचित्र विकास बोर्डमा नाम दर्ता गरेको तीन वर्षसम्म फिल्म निर्माण भएर प्रदर्शन नभए निर्माण इजाजत स्वतः रद्द हुने र उक्त नाम अर्को कम्पनीले दर्ता गरेर फिल्म बनाउन मिल्ने नियम छ । अर्कै कम्पनीले बोर्डमा नाम दर्ता भएको तीन वर्षसम्म पनि ‘दिमाग खराब’को निर्माण गर्न नसकेपछि निर्माण इजाजत रद्द भएको हुँदा निश्चलले आफ्नो ब्यानरमा ‘दिमाग खराब’ दर्ता गरिसकेका छन् ।

केही महिनादेखि फिल्मको फाइनल स्क्रिप्टमा काम भइरहेको छ । ‘लुट २’ पछि फिल्म निर्देशन नगरेका निश्चलले यही फिल्मबाट निर्देशनमा कमब्याक गर्ने तयारीमा रहेर फिल्मका लागि कथा पनि तयार पारिसकेका थिए । तर, आफूले लेखेको कथा चित्त नबुझेपछि उनी फिल्म निर्देशनबाट पछाडी हटेका हुन् ।

नयाँ कथामा फिल्मलाई सिमोस सुनुवारले निर्देशन गर्ने भएका छन् । फिल्ममा निश्चलका साथ अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको निश्चल आफैँले बताएका छन् । फिल्मलाई निश्चल आफैँले निर्माण गर्ने भएका छन् । ’दिमाग खराब’ मा काम गरेपछि निश्चल फिल्म निर्देशनमा फर्किने मनस्थितिमा रहेका छन् ।

‘लुट २’ पछि फिल्म निर्देशन छाडेर अभिनयमा व्यस्त निश्चल फिल्ममा अभिनय गर्नु आफ्नो रहर र बाध्यता दुवै भएको बताउँदै आएका छन् । फिल्ममा केमियो भूमिका बाध्यतामा गरेको भए पनि लिड रोलमा आफ्नो रहरले अभिनय गरेको निश्चल बताउँछन् । यसपछि चाँडै नै निश्चलले ‘दुई रुपैयाँ’ टिमको साथ फिल्म ‘डामाडोल’ पनि गर्ने तयारीमा गर्दै छन् ।

Loading...