अत्यधिक धुम्रपानले अन्धोसमेत बनाउँछ

विराटनगर, ४ कात्तिक । धुम्रपान गर्ने व्यक्तिहरूको स्वास्थ्यमा विभिन्न समस्याहरू आउन सक्छ भन्ने कुरा धेरैलाई थाहा हुन्छ । ७६ प्रतिशत मानिसहरूलाई धुम्रपानले क्यान्सरसमेत लगाउन सक्ने भन्ने थाहा भएपनि आँखामा पार्ने असरबारे चाहिँ धेरै अज्ञात रहेको पाइएको हो ।

नियमित चुरोटको सेवनले आँखालाई पनि जोखिममा पारिरहेको विशेषज्ञहरुले बताएका छन् । बेलायतको रोयल नेस्नल इन्सटिटीउट अफ ब्लाइन्ड पिपुल, आरएनआइबीका अध्ययनअनुसार धुम्रपान नगर्नेहरूको तुलनामा दैनिक चुरोट पिउने लत भएकाहरूको आँखाको ज्योति गुम्ने खतरा दुई गुणा बढी हुने तथ्य पत्ता लागिएको छ । वैज्ञानिकहरूका अनुसार चुरोटमा प्रयोग हुने निकोटिनको धुँवाले समस्या उत्पन्न गराउनुका साथै आँखाको अवस्थालाई झन् बिगार्दै लैजाने गर्छ ।

चुरोटको धुँवामा विभिन्न विषाक्त रसायन हुने हुँदा यसले आँखालाई असहज बनाउनुका साथै हानि पुर्याइरहेको हुन्छ । चुरोटको धुँवाबाट लिड र तामा जस्ता धातुहरू आँखाको लेन्ससम्म पुग्न सक्ने हुँदा यसले आँखाको ज्योतिलाई धमिलो बनाइदिन सक्छ । धुम्रपानले मधुमेहका बिरामीहरूको आँखाको रगत नली अवरुद्ध गरी आँखाको समस्यालाई झन गम्भीर अवस्थामा पुर्याउने क्षमता राख्दछ ।

साथै धुम्रपान गर्नेहरूमा उमेरसम्बन्धी ‘म्याकुलर डिजेनेरेसन’ अर्थात् कुनैपनि वस्तु स्पष्टसँग र विस्तृतमा देख्ने क्षमता कम हुने जोखिम पनि तीन गुणाले बढेर जाने हुन्छ । उक्त अध्ययनबाट चुरोटको अत्यधिक सेवनले आँखातर्फको रगत नली अवरुद्ध हुने हुँदा आँखाको ज्योती अचानक गुम्न सक्ने जोखिम हुने हुँदा धुम्रपान गर्नेहरूमा तुलनात्मक रूपमा १६ गुणा बढी पाइएको छ । त्यसकारण धुम्रपान गर्न बन्द गर्नु नै लामो समय आँखालाई सुरक्षित राख्ने सबैभन्दा उचित उपाय हुन्छ ।

Loading...