fbpx

‘पोई पर्‍यो काले’ले पायो ‘युनिभर्सल सर्टिफिकेट’

विराटनगर, ४ कात्तिक । कमेडी कथावस्तुमा आधारित रहेर निर्माण भएको फिल्म ‘पोई पर्‍यो काले’ सेन्सर पास भएको छ । आइतबार चलचित्र सेन्सर बोर्डले फिल्मलाई सबैले हेर्न मिल्ने ‘युनिभर्सल सर्टिफिकेट’ प्रदान गर्दै सार्वजनिक प्रदर्शनका लागि खुल्ला गरेको हो ।

फिल्मलाई शिशिर राणाले निर्देशन गरेका हुन् । हिन्दूहरूको महान् चाड तिहारको अवसर परेर फिल्म आउँदो कात्तिक ८ गते प्रदर्शनमा आउने भएको छ । सेन्सर बोर्डले कुनै दृश्य काँटछाँट नगरी फिल्म पास गरेको र फिल्मको विषयवस्तु मन परेको बताउँदै सफलताका लागि शुभकामना समेत दिएको निर्देशक राणाले जानकारी दिए ।

हामीले जे सोचेका थियौँ, सेन्सरले त्यही सर्टिफिकेट दिएको छ, फिल्म अब सबै दर्शकले हेर्न पाउने छन् भनेर आफ्नो खुशी ब्यक्त गरेका छन् । फिल्ममा अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ, अभिनेत्री पूजा शर्मा, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामालगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सौगातकै वरिपरि मूल कथा घुम्ने फिल्ममा कसले कसको श्रीमान्–श्रीमतीको भूमिका निभाएको भन्ने कुरालाई अझैसम्म सस्पेन्समा राखिएको छ । फिल्म हेरेपछि मात्र दर्शकले यसको जवाफ पाउने निर्देशक राणाले बताए । फिल्मको मुख्य ट्विस्ट नै यही रहेको उनले थपे । शिशिरले आफैँ फिल्मको कथा लेखेका हुन् ।

फिल्मलाई शिव ढकालले छायांकन गरेका हुन् । श्यामबहादुर थापा प्रस्तुतकर्ता रहेको फिल्ममा दीपक मनाङ्गे, रघु परियार र किरण नेपालीले संयुक्त रूपमा लगानी गरेर फिल्मलाई निर्माण गरेका हुन् । फिल्ममा पुरुषोत्तम न्यौपाने र शिव गौतमले संगीत दिएका छन् ।

Loading...