fbpx

बिना पानी औषधि सेवन गर्नुहुन्छ ? यो अवश्य पढ्नुहोस्

विराटनगर, ४ कात्तिक । अहिलेको सम्मयमा मानिसहरू धेरै रोगका सिकार भएका कारणले कुनै न कुनै रोगको औषधि सेवन गरिरहेका छन् । रोग निको पार्ने औषधिको सेवनमा विशेष ध्यान नदिए बिरामीको ज्यानै जोखिममा पर्नेसमेत हुनसक्छ ।

औषधिले अर्को रोग निम्त्याउन सक्ने हुँदा औषधिको सेवन गर्दा बिशेष ध्यान दिन आवश्यक हुन्छ । औषधिलाई जहिले पनि पानीसँग खानुपर्छ । तर, पानी नभएको, पानी लिन जान अल्छि लागेको वा अन्य कतिपय अवस्थामा मानिसहरूले पानीबिनै औषधि खानेसमेत गरेको पाइन्छ । पानीबिना औषधि निल्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

यसैगरी औषधिको सेवन गर्दा रोग निको हुनुको साटो उल्टै नयाँ रोग थपिने गर्छ । बिना पानी औषधि निल्दा एसोफेगस अर्थात् घाँटीको नलीमा क्षति पुग्ने गर्छ । घाँटीको नलीमा क्षति पुग्ने हुँदा औषधि निल्ने समय कहिलेकाहीँ घाटी पोल्ने तथा आँखाबाट आँसु पनि झर्ने गर्छ ।

पानीबिना औषधि निल्दा घाँटीको नली पोल्ने, दुख्ने समस्या उत्पन्न हुन्छ । औषधिको आकारमा पनि दुखाइ निर्भर गर्ने हुन्छ । मानिसहरूको घाँटीको नली कमजोर मांसपेशीबाट बनेको हुँदा बिना पानी औषधि निल्न खोज्दा औषधि घाँटीको नलीमा अल्झिए घाउ हुनुका साथै सम्बन्धित ठाउँमा निकै ठूलो हानि पुग्ने हुन्छ ।

टर्कीमा भएको एक अध्ययनअनुसार बिना पानी औषधिको सेवनले घाँटीका विभिन्न तन्त्रमा दुखाइको समस्या निम्त्याउनुका साथै श्वासप्रश्वासमा समेत अवरोध सिर्जना हुन्छ । बिना पानी औषधि प्रयोग गर्दा अल्सर हुने सम्भावना पनि दुई गुणाले बढेर जान्छ । औषधिलाई चपाएर खाँदा पनि यस्तो समस्या निम्तिन सक्छ ।

त्यसैले, औषधि खानेबेलामा कम्तीमा एक गिलास पानीसँग निल्ने गर्नु पर्छ । औषधि उभिएर वा बसेर खाने गर्नुपर्छ । कहिल्यै पनि सुतेर औषधि खाने बानी गर्नु हुँदैन ।

Loading...