fbpx

युवाहरूलाई स्वस्थ्य बनाउने अभियान चलाउने छौं : अशोक शंकर ( राष्ट्रिय अध्यक्ष उम्मेदवार , नेपाल जेसिज)

अशोक शंकर (३७) मोरङको पथरी बजारका स्थायी बासिन्दा हुन् । गाउँबाटै एसएलसी उत्तीर्ण गरेका उनले स्नातकसम्मको अध्यन गरेका छन् । हाल सुनचाँदी र फेन्सी व्यवसायमा सक्रिय अशोक सफल उद्यमीसँगै युवा समाजसेवी पनि कहलिन्छन् । ग्रामीण क्षेत्रमा बसेर नेपाल जेसिजको सन २०१८ को कार्यकारिणी उपाध्यक्ष (एक्जुकेटिभ भ्वाइस प्रसिडेन्ट) पदमा पुग्न सफल भइसकेका अशोक पथरी जेसिजका संस्थापक अध्यक्ष पनि हुन् ।

९ देखि १३ पुससम्म चितवनको रत्ननगरमा हुन गइरहेको राष्ट्रिय सम्मेलनका लागि अशोकले जेसिजको राष्ट्रिय अध्यक्षका लागि उम्मेदवारी पनि घोषणा गरिसकेका छन् । कोशी अनलाइनले जुझारु, निर्भिक,सक्रिय युवा अशोकसँग गरेको जेसिज संवाद….

af

जेसिजमा कहिलेदेखि आवद्ध हुनुभएको हो ?

म सन् २०१० देखि जेसिजमा आवद्ध भएको हुँ । म पथरी जेसिजको संस्थापक अध्यक्ष पनि हुँ ।

जेसिजमा लाग्ने प्रेरणा कसरी प्राप्त भो ?

म विद्यार्थी जीवनदेखि नै जेसिजबारे चाख राख्थेँ । जेसिजका गतिविधिहरू सुन्न बुझ्न रुचाउथेँ । किनभने, नेतृत्त्व विकास महत्त्वपूर्ण हो भन्ने मलाई लाग्थ्यो । मलाई सन् २००१ तिर जेसी केदार भण्डारीले जेसिजको महत्त्वबारे थप बुझाउनु भएको थियो । त्यसपछि मलाई जेसिजबारे अझै धेरै श्राद्ध बढन थाल्यो । तर, म बसेको सानो शहरमा जेसिज स्थापना नभएकोले सक्रिय रूपले आवद्ध हुने अवसर चाहेर पनि पाइँन ।

ग्रामिण क्षेत्रको सानो शहर पथरीमा जेसिज कसरी जन्मियो ?

मैंले जेसिजको महत्त्व बुझेदेखि नै पथरीमा जेसिज गठन गनुपर्छ भन्ने चाहन्थेँ । तर, आवश्यक युवा जनशक्ति जुटाउन सकिएको थिएन । मलाई लेटाङ जेसिजका अध्यक्ष हिक्मत खड्काले साथी जीवन कटुवाललाई अध्यक्ष बनाएर पथरीमा पनि जेसिज गठन गर्न सुझाव दिनुभयो । तर, पछि जिवनजीहरूले मेरै नेतृत्त्वमा जेसिज गठन गराउनु भयो ।

जेसिज भनेको के हो ?

जेसिज भनेको १८ देखि ४० बर्षसम्मका युवाहरूको संगठन हो । यसले युवाहरूको व्यक्तित्त्व विकास गर्न सहयोग गर्छ । यसमा विधिको शासन पालनामा विशेष जोड दिइन्छ । यहाँ एक व्यक्ति एक पद र एक वर्ष अवधि पूर्ण रूपले पालना हुन्छ ।

नेपालभरि जेसिजका कति शाखा छन् ?

देशभरि नेपाल जेसिजका १ सय ४९ शाखा छन् । जसमा १५ हजार युवा आवद्ध छन् ।

जेसिजले कसरी युवाहरुको नेतत्त्व विकासमा सघाउँछ ?

व्यक्ति सफल भयो भने सबै सफल हुन्छ र बनाउन सकिन्छ भन्ने जेसिजको मान्यता हो । यसैले जेसिजले युवाहरूको नेतृत्त्व सफल वनाउनुपर्छ भन्नेमा जोड दिएको हो । राम्रो नेतृत्त्व नै विकासको आधार हो । नेतृत्त्व राम्रो भएन भने विकास राम्रो हुन सक्दैन । त्यो हामीले देखिसकेका छौँ । भोगिसकेका छौँ । यसैले जेसिजले आफूमा असल नेतृत्त्व विकास गर्न सकियो भने जहाँ गएपनि सफल हुन सकिन्छ भनेर सिकाउँछ । जसले युवाहरूलाई असल मात्र नएर आफू कसरी सफल बन्न सकिन्छ भनेर सघाइरहेको छ ।

के त्यसोभए जेसिजहरू सामाजिक विकासका कार्यकर्ता हुन् ?

होइन । जेसिजहरू सामाजिक विकासका कार्यकर्ता मात्र होइनन् । जेसिजहरू त पहिले व्यक्तित्त्व भएका समाजका नेताहरू हुन् । सफल व्यवसायिक उद्यमीहरू हुन् । यहाँ सामाजिक काम गरेकोले जेसिजहरू समाजिक विकासका कार्यकर्ताहरू हुन् भन्ने भ्रम पनि छ । तर, सामाजिक काममा लाग्नेबित्तिकै जेसिसहरूलाई विकासका कार्यकर्ता भनेर बुझ्नु हुँदैन । जेसिजहरू त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा फैलन सक्ने उद्यमशीलताका लागि नेतृत्त्वहरू हुन । उद्यमशीलतामा नलाग्नेहरू जेसिज होइनन् । किनभने, मान्छे गरिब रहिरहनु भनेकै उद्यमशीलता नभएर हो ।

जेसिजको सदस्य हुन के गर्नुपर्छ ?

पहिले त जेसिजको सिद्धान्त र व्यवहारलाई स्वीकार गर्नुपर्छ । अनि, वार्षिक १ हजार रुपैयाँ तिरेर सदस्य बन्न सकिन्छ । जेसिजमा तालिम भ्रमणहरूको खर्च आफैँले बेहोर्नुपर्छ ।

जेसिजको राष्ट्रिय अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ, यहाँसम्म पुग्न कति समय खर्चनु भयो ?

जेसिजको राष्ट्रिय अध्यक्ष हुन १२ देखि १५ वर्षको जेसिज यात्रा तय गर्नुपर्छ । मैले पनि तय गरिसकेको छु ।

अध्यक्षको तयारी कसरी गरिरहनु भएको छ त ?

उम्मेदवारी घोषणा गरेपछि शाखाहरूमा गएर भेटघाट गर्ने, आफ्नो भिजन, मिसन र गोलबारे प्रष्ट बुझाउने काम गरिरहेको छु । र, जेसिजका विभिन्न गतिविधिहरूमा पनि सक्रिय भएर लागिरहेको छु ।

जेसिजको चुनाव पनि धेरै खर्चिलो र भड्किलो हुँदैआएको गुनासो छ, कति खर्च गर्ने योजनामा हुनुहुन्छ ?

अब कुनै पनि संस्था, संगठनको राष्ट्रिय चुनावमा प्रचारप्रसारमा केही न केहीखर्च त भइहाल्छ । तर, म फजुल खर्च गरेर चुनाव जित्नुपर्छ र सकिन्छ भन्नेमा विश्वास गर्दिँन । र, लाखौँलाख खर्च गर्ने मेरो सामर्थ्य पनि छैन, योजना पनि बनाएको छैन । म जेसिजलाई पारदर्शी र स्वस्थ्य बनाउनुपर्छ भन्ने अभियानमा लागेको र लागिरहने व्यक्ति हुँ । यसैले म भड्किलो खर्चमा हैन आफ्नो एजेण्डाहरू बुझाउन बढी जोड दिनेछु । र, म अतिरञ्जित प्रचारमा पनि जोड दिन्नँ ।

जेसिजमा पनि गुटबन्दी हदैसम्म हुन्छ भनिन्छ नि ?

गोप्य मतदान भनेको डेमोक्रयाटिक्स प्राक्टिस हो । यो लोकतान्त्रिक पद्धतीको सौन्र्दय पनि हो । यसैले कसैलाई म तिम्रो गुँटको हुँ भनेर छाती खोलेर देखाइरहनु पर्दैन । वास्तवमा जेसिजमा कहिलेकाँही भएका गलत प्राक्टिसले गर्दा छाती खोलेर देखाउनुपर्ने अबस्थाहरू देखा पनि परेका छन् । तर, अब त्यसलाई अन्त्य गर्नुपर्छ । जेसिज भनेको अन्तर्राष्ट्रिय भावनात्मकता भएको क्षेत्र पनि हो । यसैले लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन गोप्य मतदानको अधिकारलाई सुरक्षित र सम्मानित बनाउनुपर्छ । यसो भयो भने म तिम्रो मान्छे हुँ भनेर छाती खोलेर हिँडिरहनुपर्ने अवस्था स्वतः अन्त्य हुन्छ ।

अध्यक्षमा विजयी बन्ने तपाईंका आधारहरू के के हुन् ?

९ देखि १३ पुससम्म चितवनको रत्ननगरमा जेसिजको राष्ट्रिय सम्मेलन हुँदैछ । र, त्यो सम्मेलनबाट म अध्यक्षमा विजयी हुन्छु भन्नेमा पूर्ण विश्वस्त छु । किनभने, सक्रियता, पारदर्शिता, निर्भिकता अनि निष्पक्षता हाम्रो गुण हो । म काखा र पाखामा विश्वास गर्दिँन । विधि र अनुशासन अनि गतिशीलतामा विश्वास गर्छु । मैले युवाहरूलाई अवसर प्राप्त गर्नेगरी तालिम दिएर नेतृत्त्व विकास गर्ने, सामाजिक काममा सहकार्य गर्ने, प्रभावकारी जेसिज सप्ताहहरू गराउँदै नेपाल जेसिजका युवाहरूलाई अन्तर्राष्ट्रियकरण गर्ने योजना बनाएको छु । हामी जेसिजहरू खानपान र वातावरणको कारणले युवा अवस्थामै रोगी बन्दै गइरहेको छौँ । रोग बोकेर नेतृत्त्व हाँक्न सकिँदैन । विकासमा सहकार्य गर्न सकिँदैन । सफल उद्यमी बनिँदैन । यसैले सन् २०२० देखि रणनीतिक योजना बनाएर स्वस्थ्य जेसिज अभियान पनि चलाउने छौँ ।

चालीस वर्षपछि जेसिजको सदस्यता समाप्त हुन्छ अरे, लामो योगदान दिनेहरूलाई प्रौढ अवस्थामा कुनै भूमिका हुँदैन ?

भूमिका हुन्छ नि । चालीस वर्ष कटिसकेपछि पनि जेसिजका लागि योगदान दिन सकिन्छ । अझै दस वर्ष आउने पुस्ताहरूकालागि काम गर्न सकिन्छ, सल्लाहकार र प्रशिक्षक बनेर । अनि, जेसिजमा सिकेका कुरा व्यवहारमा लागू गरेर समाजमा स्थापित हुन सकिन्छ, समाजसेवी भएर । समाजलाई उद्यमशील, उत्पादनशील विधिको शासन पालना गर्ने स्वच्छ बनाउनु भनेको जेसिजको सिद्धान्तलाई जुनसुकै उमेरमा पनि योगदान गर्नु हो ।

प्रस्तुति : आशिका लम्साल (कोशी अनलाइनका लागि प्रशिक्षार्थी पत्रकार)

Loading...