fbpx

उपराष्ट्रपतिको आग्रह : ‘सबै युवा वैज्ञानिकहरू अब स्वदेश फर्किनुपर्छ’

काठमाडौं, ४ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले विदेशमा कार्यरत सबै युवा वैज्ञानिकहरूलाई स्वदेश फर्किन आग्रह गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र राष्ट्रिय युवा परिषद् नेपालको संयुक्त पहलमा सोमबारदेखि सुरु भएको तीनदिने अन्तर्राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उपराष्ट्रपति पुनले विदेशमा अध्ययन गरिरहेका वा कार्यरत युवा वैज्ञानिकलाई स्वदेश फर्कन आह्वान गरे । देशको समृद्धि र विकासका लागि युवा वैज्ञानिकले देशमै रहेर योगदान दिनुपर्ने उनले बताए । उनले भने, ‘नेपाली जनताको उत्थान र आर्थिक उत्पादकत्व वृद्धिमा युवा वैज्ञानिकको अतुलनीय योगदान छ । घर घरमा श्रम गर्न सानासाना मेशिन र त्यस्तै प्रकारका प्रविधि भित्र्याउनुपर्छ । विदेशमा रहेर वैज्ञानिक खोज अनुसन्धान गर्नुभन्दा मातृभूमिमै रहेर अनुसन्धान गर्नु औचित्यपूर्ण हुनेछ ।’

त्यसैगरी उनले बेलायतमा औद्योगिक क्रान्तिपश्चात् प्रविधिको विकास भएको उल्लेख गर्दै नेपाली वैज्ञानिकले पनि विज्ञान प्रविधि र नवप्रवर्तनलाई नेपाली जनजीवनसँग जोड्न आवश्यक रहेको जनाए ।

Loading...