fbpx

छुवाछुत पीडितलाई सहयोग गरेको भन्दै हस्ताक्षर संकलन गरेर कारवाही माग

विराटनगर, ४ कात्तिक । चिया पसलमा जातीय छुवाछुत गरेको घटना प्रहरीमा दर्ता गराउन सहयोग गर्नेलाई कारवाही माग गर्दै पीडकलाई सर्मथन गर्नेहरूले मोरङको पथरीशनिश्चरे नगरपालिकामा हस्ताक्षर संकलन गरी बुझाएका छन् ।

मोरङको पथरीशनिश्चरे नपा–९ नम्बर वडाका होटल सञ्चालक ४५ वर्षीय टलकबहादुर पाण्डे र वडा नम्बर ४ का ६५ वर्षीय रुद्रबहादुर कटुवालविरुद्ध मुद्दा दर्ता गराउन सहयोग गरेको भन्दै न्यायिक समिति सदस्य भद्रमान विश्वकर्मालाई कारवाही माग गर्दै पीडक पक्षले हस्ताक्षर संकलन गरेर आइतबार नगरपालिकामा बुझाएका हुन् ।

छुवाछुत गर्नेहरूको सर्मथनमा हस्ताक्षर गर्नेहरूले समाजका साना घटनाहरूलाई उचालेर ठूलो बनाउँदै कानूनी दायरामा लगेर समाजिक सद्भाव विथोलेको आरोप लगाएका छन् । उनीहरूले न्यायिक समिति सदस्य विश्वकर्मालाई समाजिक सद्भाव विथोलेको आरोपमा पदबाट मुक्त गर्नुपर्ने माग गरेका छन् ।

यर्थाथ बुझिसकेपछि मात्र निर्णय गर्छौं : नगर प्रमुख, किशोर राई

छुवाछुत गर्नेहरूको पक्षमा सर्मथन गर्दै न्यायिक समिति सदस्य भद्रमानलाई कारवाही गर्न माग गर्दै ६ सय ७५ जनाले हस्ताक्षर संकलन गरेर बुझाएको पथरीशनिश्चरे नरपालिका प्रमुख किशोर राईले बताए । उनले हस्ताक्षरको ज्ञापनबारे बोर्डमा छलफल गरेर यर्थाथ जानकारी लिन्छौँ भने ।

पथरीशनिश्चरे नपाको शनिश्चरे बजारस्थित छुवाछुतको घटना भएकै वडाका स्थायी बासिन्दा तथा पूर्वशिक्षक भद्रमान विश्वकर्मा पथरीशनिश्चरे नपाको कार्यकारी समिति र न्यायिक समितिको मनोनित सदस्य हुन् । उनीसहित पथरीका दलित अगुवाहरूले पथरीशनिश्रे नपा–४ बस्ने ६० वर्षीय डिमोने कामीलाई सानो जाति भन्दै सार्वजनिक होटलमा चिया पिउन नदिएर छुवाछुत गरको घटना अपराधपूर्ण भएको भन्दै पीडितलाई इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिन सहयोग गरेका थिए ।

dsfg

आफूमाथि छुवाछुतको व्यवहार भएपछि पीडित डिमोने न्याय खोज्दै न्यायिक समितिमा पुगेका थिए । तर, छुवाछुत फौजदारी कसुरको अपराध न्यायिक समितिले हेर्न नमिल्ने भएकोले सदस्य विश्वकर्माले प्रहरीमा गएर उजुरी दिन सुझाव दिएका थिए ।

२० असोजमा डिमोने कामीलाई शनिश्चरे बजारस्थित टलकबहादुर पाण्डेको होटलमा सानो जाति भन्दै चिया खाने बेलामा छुवाछुत गरिएको थियो । दसैं सकिएलगत्तै पीडित डिमोनेले दलित अधिकारकर्मीहरूको सल्लाहमा छुवाछुत गर्नेहरू पाण्डे र कटुवालविरुद्ध २८ असोजमा इप्रका पथरीमा जातीय विभेद तथा छुवाछुत कसुर ऐन २०६८ अनुसार किटानी जाहेरी दर्ता गराएका थिए ।

किटानी जाहेरी परेपछि प्रहरीले छुवाछुत आरोपीहरूलाई पक्राउ गरको थियो । यता, छुवाछुत आरोपी होटल सञ्चालकका आफन्तले आफूहरूले छुवाछुत नगरेको बरु उल्टै डिमोनेले होटलमा जबर्जस्ती पसेर गालीगलौज गरेको भन्दै उजुरी दिएपछि प्रहरीले डिमोनेलाई पनि पक्राउ गरेर ३० असोजमा अभद्र व्यवहारमा जिल्ला प्रशासन मोरङमा मुद्दा दर्ता गराएको थियो ।

दलितहरूले संघर्ष थाल्ने

छुवाछुतको व्यवहार भोग्ने पीडितलाई पक्राउ गरेर झुठा मुद्दा लगाएको भन्दै दलितहरू आन्दोलित भएका छन् । उनीहरूले १ कात्तिकमा जिल्ला प्रशासन मोरङमा घटनाको निष्पक्ष छानबिन गरी झुठा मुद्दा लगाउनेहरूलाई कारवाही गर्न माग गर्दै प्रदेश सरकार र राष्ट्रिय मावन अधिकार आयोगलाई ज्ञापनपत्र बुझाएका छन् ।

छुवाछुत पीडितलाई सहयोग गर्नु न्यायिक समिति सदस्य विश्वकर्माको मात्र नभइ सबैको कर्तव्य भएकोले उनीबाट कुनै गल्ती नभएको बरु पीडकहरूले नै सामाजिक एकता विथोल्न खोजेको भन्दै दलित संघसंस्थाहरूले दुरुत्साहन गर्नेहरूलाई कारवाही गर्न माग गरेका छन् । आइतबार पथरीमा बसेको दलितहरूको संयुक्त बैठकले मानव अधिकार, संविधान र कानूनले अमानवीय र अपराधपूर्ण भनेर घोषणा गरिसकेको छुवाछुतको व्यवहार भोग्ने पीडितलाई सहयोग गर्न कडा संघर्ष थाल्ने निर्णय गरेका छन् ।

जातीय छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार कुनैपनि सार्वजनिक र निजी क्षेत्रमा जातीय विभेद र छुवाछुत गर्नेलाई ३ महिनादेखि ३ वर्षसम्म कैद सजाय ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना र पीडितलाई बिगोअनुसारको क्षतिपूर्तिको व्यवस्था छ । साथै जातीय छुवाछुत गर्न उक्साउने वा सहयोग गर्नेलाई पनि बराबरी सजाय हुने ऐनमा उल्लेख छ । ऐनअनुसार सरकारी ओहोदाको व्यक्ति भए दोब्बर सजाय हुने व्यवस्था छ ।

Loading...