fbpx

पत्रपत्रिकामा प्रदेश : सडक दुर्घटनामा प्रदेश १ मा दैनिक १ जनाको मृत्यु

विराटनगर ४ कात्तिक । सडक सुशासन पालना नहुँदा प्रदेश १ मा सवारी दुर्घटना दैनिक १ जनाको मृत्यु हुने गरेकोे छ । अघिल्लो आर्थिक वर्षको तुलनामा केही घटेपनि दुर्घटना न्यूनिकरणको लागि सबै सचेत हुनु पर्ने अवस्था रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा दैनिक १.२ व्यक्तिको मृत्यु हुने गरेकोमा चालु आर्थिक वर्षमा भने दैनिक सरदर १ जनाको मृत्यु हुने गरेको छ । प्रदेश १ का ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरिक्षक भीम दाहालले चालकको लापरवाही र सडकको दुरावस्थाले बढी दुर्घटना हुने गरेको बताए ।
प्रदेश १ सरकारले सडक सुशासनलाई महत्व दिएको भएपनि यसकोलागि पर्याप्त पूर्वाधार भने बनाउन सकेको छैन् । प्रदेश १ का सडकमा ट्राफिक बत्ती कतै राखिएको नै छैन् । यो समाचार उद्घोष दैनिकमा छ ।

जनविद्रोह दैनिकमा राजधानीमै छैन स्वच्छ खानेपानी शिर्षकमा मुख्य समाचार छ । विराटनगर महानगरपालिकाका झण्डै ५० प्रतिशतले शुद्ध खानेपानी नपाएको खबर जनविद्रोहमा छ । विराटनगरका गाभिएको साविक बैजनाथपुर गाविस र बुधनगर गाविसका सबै घर धुरी ट्यूवेलको पानी उपभोग गरिरहेका छन् । ट्यूवेलको पानीमा आइरन तथा आर्सेनिक पाइने हुँदा प्रतिकुल मानिन्छ । पछिल्लो समय विराटनगर महानगरको जनसंख्या २ लाख १० हजार पुगेको भएपनि खानेपानीको पहुँच भने १ लाख ५० हजारमा मात्र रहेको महानगरपालिकाका अधिकृत पुनम दाहालले बताए ।

शान्ति सामुदायिक वन पथरीशनिश्चरेका पदाधिकारी भ्रष्टाचारको अभियोग लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालय धाउदै आएका छन् । शान्ति वन उपभोक्ता समूहका अध्यक्ष कुलबहादुर गुरुङ लगायतका पदाधिकारी र पथरीशनिश्चरे नगरपालिकाका जनप्रतिनिधिहरुले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिबाट आएको २५ लाख रुपैयाँ बजेट आधा काम गरेर पुरै निकासा गरि हिनामिना गरेपछि अख्तियार धाउनु परेको हो । अख्तियारमा उजुरी परेपछि ११ लाख सरकारी राजश्वमा फिर्ता गरेको ब्लाष्ट टाइम्समा खबर छ ।

मोरङको बुधनगरमा निर्माण भएको एकीकृत भन्सार जाँच चौकी (आईसिपी) तिहारपछि सञ्चालनमा आउने भएको समाचार जनविद्रोह दैनिकमा छ । भारतीय पक्षले निर्माणको सम्पूर्ण काम पूरा गरि नेपाललाई हस्तान्तरण गर्न लागेको हो । भारतीय पक्षले आइसिपीको परिक्षण पनि गरि सकेको छ ।

Loading...