visit-nepal

किन हुन्छ महिनावारी नहुने समस्या ?

विराटनगर, ३ कात्तिक । सामान्यतया १० देखि १५ वर्षका किशोरीहरूमा महिनावारी शुरु हुने गर्छ । तर, कोही किशोरीहरूमा महिनावारी नहुँने समस्या पनि हुन सक्छ । स्त्री रोग विशेषज्ञ डाक्टर मधु श्रेष्ठका अनुसार यसको विभिन्न कारण हुन्छ ।

इस्ट्रोजन हर्मोनको कारण महिलाहरूमा महिनावारी हुने गर्छ । शरीरमा भएको पिट्युटरी गोनाडोट्रोपीन नामन ग्रन्थिबाट निस्कने गोनाडोट्रिपीन हर्मोनको कमी हुँदा डिम्बाशयबाट इस्ट्रोजन हर्मोन निष्कासन कम गर्छ । हर्मोनको कमिका कारण पाठेघरको भित्री तहबाट रक्त नलिहरुबाट रगत बगाउने कार्य पूर्ण रुपमा विकासित हुन नसक्ने हुँदा किरोशीहरूमा महिनावारी हुँदैन । यस्तै, कुनै कुनै किशोरीहरूको जन्मजात योनीद्धार बन्द हुने र पाठेघरको बनावट पनि सानो हुँदा पनि महिनावारी नहुने हुन सक्छ ।

योनीद्धार बन्द भएका र पाठेघरको मुखको प्वाल बन्द रहेमा किशोरीहरूको महिनावारी भएपनि उनीहरूको महिनापिच्छे बगेको रगत योनीद्धार बन्द भएकाले निस्कन सक्दैन र महिनावारी भएको थाहा हुँदैन । किशोरी अवस्थामा पौष्टिक आहारको कमी, रक्तअल्पता, टीबी तथा सानै उमेरमा डावटिकको समस्या हुने किशोरीहरूमा यस्तो समस्या हुने गर्छ । योनीमार्ग बन्द भएका किशोरीहरूमा महिनावारीमा बगेको रगत शरीरभित्रै जम्मा हुने भएकाले पेट दुख्ने, पेट फुल्ने समस्या हुन्छ ।

महिनावारी हुँदा बाहिर ननिस्केको रगत पाठेघर वा योनी मार्गमै जम्मा भएर बसेको हुन्छ । पाठेघर तथा योनीमार्गमा जम्मा भएको रगतलाई सामान्य शल्यक्रिया गरेर निकाल्न सकिन्छ । बन्द भएको पाठेघरको मुख वा योनीमार्ग पनि शल्यक्रिया गरेर खुलाइन्छ । त्यसैले महिनावारी हुने उमेरमा महिनावारी नभएर हरेक महिना पेट दुख्ने, फुल्ने समस्या भएका किशोरीहरूले चिकित्सकसँग परापर्श र उपचार गराउन आवश्यक हुन्छ । यसका साथै कतिपय किशोरीहरूमा पाठेघर वा डिम्बाशय नै नभएका कारणले महिनावारी हुँदैन । पाठेघर तथा डिम्बाशय नभएका किशोरीको पछि गएर बच्चा हुँदैन ।

Loading...