fbpx

धरानमा उपनिर्वाचनकाे चहलपहल : कांग्रेसबाट तिलक राई, नेकपालाई उम्मेद्वार छान्न सकस

धरान, ३ असोज । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले धरान उपमहानगरपालिका प्रमुखको पदमा तिलक राईलाई उम्मेद्वार बनाउने भएको छ । निर्वाचन मिती नजिकिदै गर्दा  कांग्रेसले राईलाई उम्मेद्वार बनाउने भएको हो । राई २०७४ सालको स्थानीय तहकाे निर्वाचनमा तत्कालीन एमालेका उम्मेद्ववार  तारा सुब्बासँग पराजित भएका थिए ।

ठूलो दल नेकपालाई भने उम्मेद्वार छनोट गर्न सकस परेको छ । आकांक्षी धेरै भएका कारण नेकपालाई सकस परेको हो । नेकपाबाट प्रकाश राई र विजय राई प्रमुख दाबेदारको रूपमा प्रस्तुत भएका छन् । दुवै पूर्व एमाले हुन् ।

पूर्व माओवादीबाट मुक्साहाङ लिम्बू र फाेक्वाहाङ चाेत्लुङले इच्छा देखाएका छन । उनले आफुलाई धरान उपमहानगरको प्रमुखको उम्मेद्वारका रुपमा प्रस्तुत गदै प्रचारप्रसार गरिरहेका छन् । मुक्साहाङ भने खुलिसकेका छैनन् । विप्लव समुहबाट नेकपामा प्रवेश गरेका किरण राईलाई पनि दाबेवारका रुपमा हेरिएकाे थियाे । तर, पूर्वएमालेको किल्ला रहेको सो क्षेत्रमा माओवादीका नेता ओझेलमा परेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा तारा सुब्बाले २० हजार ९ सय ७५ मत ल्याउँदा माओवादीका उम्मेद्वार आइन्द्रविक्रम बेघाले ११ हजार १ सय ८० मत ल्याएका थिए । दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेद्वार तिलक राईले १६ हजार १०२ मत ल्याएका थिए ।

बिश्लेषकहरुका अनुसार धरान उपमहानगरपालिका प्रमुख पदको दाबेदार रहेका विजय राई प्रधानमन्त्री केपी ओली गुटका हुन् । प्रकाशले गुट स्पष्ट नखुलाए पनि उनलाई माधव नेपालको गुटको मानिन्छ । जिल्ला सदस्य रहेका प्रकाश स्थानीय तहमा पहुँच राम्रा भएका नेता मानिन्छन् । प्रदेश सदस्य रहेका विजय केन्द्रीय तहमा राम्रो पकड राख्छन् ।

स्थानीयस्तरमा राम्रो पहुँच बनाएका प्रकाशको केन्द्रीय तहमा विजयको भन्दा पकड कमजोर छ । झलनाथ खनाल प्रधानमन्त्री हुँदा खनालको सचिवालयमा बसेर काम गरेका विजयले केन्द्रमा पहुँच बलियो छ । उम्मेद्वार छनोटको मिति नजिकिँदै गर्दा दुवै नेताले टिकटका लागि दौडधुप गरिरहेका छन् ।

यता उपमेयर एमालेको भएकोले अबको मेयर पूर्व माओबादीतर्फबाट हुनेपर्ने एकथरिको अडान छ । अर्कोथरिले भने जनमत पूर्व एमालेकै बढि भएकोले मेयरको उम्मेदवार पनि पूर्व एमाले बाटै हुनुपर्ने  अडान लिएका छन् ।

नेकपा धरान नगरकमिटि अध्यक्ष नारायण सुवेदी पार्टीले आन्तरिक रूपमा उम्मेद्वार छनोटका तयारी सुरु गरिरहेको बताउँछन् । अन्य पार्टीले उम्मेद्वारको टुंगो लगाएपनि नेकपालाई कात्तिक १० गतेभित्र उम्मेद्वार सिफारिस गर्ने समयसीमा छ । निर्वाचनका लागि नेकपाले वडा र टोलमा एकता भेलासँगै कमिटि गठनको काम गरिरहेको उनले बताए ।

साना दलको साथ खोज्दै कांग्रेस

नेपाली कांग्रेसले साना दलसँग एलायन्स गरेर अघि बढ्ने तयारी गरेको छ । एक वर्षको कार्यकाल पूरा नगरी सुब्बाको निधन भएपछि हुन लागेको निर्वाचनमा नेपाली कांग्रेसले समाजवादी राप्रपासहित नेकपाबाहेकका साना दलसँग एलायन्स गरेर अघि बढ्ने तयारी गरेको मेयरको उम्मेद्वारसमेत रहेका कांग्रेस धरान उपमहानगर समिति सभापति तिलक राईले बताए ।

‘हाम्रो पाटीले नगरक्षेत्र हुँदै निर्विरोध रूपमा मलाई सिफारिस गरेको छ,’ उनले भने, ‘हामी चुनावी अभियानमा होमिएका छौं ।’

धरानका कतिपय मुद्दामा नेकपाबाहेकका दल एक ठाउँमा रहको उनले बताए । ‘धरानमा नेकपाबाहेक अन्य पार्टी एक ठाउँमा छौं,’ राई भन्छन्, ‘खानेपानी होस्, या अन्य मुद्दासँगै आवाज उठाएका छौं ।’ एलायन्सका लागि कांग्रेसले वडा नम्बर ७ को अध्यक्ष पदमा उम्मेद्वार छनोट गरेको छैन ।

उनी नेकपाले दुई वर्षको अवधिमा केही काम गर्न नसकेका कारण आफ्ना योजनासहित जनताको घरदैलोमा जान थालेको बताउँछन् ।

प्रदेश १ का नौं स्थानमा निर्वाचन

एक वर्ष प्रदेश १ का नौं स्थानमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले मंसिर १४ गते उपनिर्वाचनको मिति तोकेपछि तीन स्थानीय तह प्रमुख र ६ वडामा उपनिर्वाचनको तयारी सुरु भएको हो ।

प्रदेश १ मा सुनसरीको धरान उपमहानगरपालिका, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष र संखुवासभाको मकालु गाउँपालिकामा प्रमुखको पद रिक्त छ । धरानकै वडा नम्बर–७, फिदिम नगरपालिका वडा नम्बर–१, हिलिहाङ गाउँपालिका–७, मोरङको धनपालथान गाउँपालिका–२ संखुवासभाको खाँदबारी गाउँपालिका वडा नम्बर–८ र खोटाङको सकेला गाउँपालिका–३ को वडा अध्यक्ष पद खाली छ ।

Loading...