fbpx

‘बोन अट्याक’, र यसको रोकथाम

विराटनगर, ३ कात्तिक । मानव शरीरमा चोटपटकबिना पनि हड्डी भाँच्चिने समस्या निम्तिन सक्छ । थाहा नहुने तरिकाले शरीरभित्रको हड्डी भाँच्चिने समस्यालाई विज्ञानको भाषामा बोन अट्याक भएको भनिन्छ ।

ओस्टियोपोरोसिस नामक एक प्रकारको हड्डी मक्किने रोगका कारण चोट पटक नलाग्दा, ठोक्किँदा वा केही नहुँदा पनि आफैँ हड्डि भाँचिने समस्यालाई बोन अट्याक भनिन्छ । बोन अट्याक भएका व्यक्तिहरूको खासगरी हिपको हड्डी भाँचिने समस्या हुन सक्छ । हड्डी मक्किँदै आउँने हुँदा सामान्य चोटपटक लाग्दा पनि मानिसको हड्डी भाँच्चिने सम्भावना धेरै रहन्छ । यसको उपचार गर्नका लागि जटिल प्रकारको शल्यक्रिया गरिन्छ । अपरेसनपछि पनि बोन अट्याक भएका बिरामीहरूमा प्रत्येक ४ जनामध्ये एक जना बिरामीको एक वर्षभित्रमा मृत्यु हुने गरेको चिकित्सकहरूले बताउँदै आएका छन् ।

बाँचेका मध्ये पनि एकदमै कम मात्र सामान्य हिँडडुल गर्न सक्ने हुन्छन् । त्यसैले, समयमै बोन अट्याक हुनबाट बच्नु पर्छ । बोन अट्याकबाट बच्नका लागि खानपान र जीवनशैलीमा ध्यान दिनुपर्छ । हड्डी र मांसपेशीलाई बलियो बनाउनका लागि दूध, दही, चिज, सोयाबिन, गेडागुडी, च्याउ, बन्दाकोभी, ब्रोक्कोली, मटरकोसा, सुन्तला, अण्डा, टुना माछा, कलेजो आदि क्याल्सियम तथा भिटामिन ’डी भएका खानेकुरा प्रशस्त मात्रामा खाने, नियमित व्यायाम गर्ने र प्रत्येक दिन २० मिनेट जति बिहानको घाममा बस्ने गर्नु पर्छ ।

चुरोट, रक्सी तथा सूर्तीजन्य पदार्थहरूले ओस्टिओपोरोसिसको जोखिम एकदमै बढाउने हुनाले यसबाट टाढा रहने गर्नु पर्छ । वृद्ध अवस्थाका लडेर चोट पटकको निकै डर हुने भएकोले व्यक्तिहरूले अरु मानिस तथा लठ्ठीको सहारामा हिँडडुल गर्नुका साथै निकै ध्यान पुर्याउनु पर्छ । चिनी रोग भएका व्यक्तिहरू तथा गर्भावस्थामा यो रोगले गर्दा गर्भवती महिलाहरूको हड्डी भाँच्चिने जोखिम बढी हुने हुँदा बढी सतर्क रहनुपर्छ । विभिन्न औषधिहरूको सेवनले समेत यो रोग निम्तिने हुँदा डाक्टरको परामर्शबिना औषधिको सेवन गर्नु हुँदैन ।

Loading...