fbpx

आलमलाई थप पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौं, ३ कात्तिक । बम बिस्फोटमा घाइते भएका पाँच जनालाई इँटाभट्टामा हालेर निर्मम हत्या गरेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री मोहमद आफताव आलमलाई अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

उक्त घटनाबारे अनुसन्धानको लागि भन्दै जिल्ला अदालत रौतहटले थप पाँच दिनको म्याद थपेको हो । जिल्ला न्यायाधीश चाणकमणि अर्यालको इजलासले आलमलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले पहिलो पटक थप गरिएको सात दिनको समय सकिएपछि पुन पाँच दिनको म्याद थप गरेको हो । यसअघि उनलाई ७ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

उनीविरुद्ध थप दुई मुद्दा दर्ता भएको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा र बम विस्फोटक पदार्थ ऐनअन्तर्गत मुद्दा दर्ता जिल्ला न्यायाधीबक्ता खवीन्द्रराज कटुवालले जनाएका छन् । आलमको विश्वासपात्र सखी मोहम्मद (घटनाका घाइते) का जाहेरीको आधारमा आलमविरुद्ध थप दुई मुद्दा दर्ता भएका हुन् ।

रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित आलममाथि २०६४ सालमा रौतहटमा भएको बम विष्फोट घटनामा संलग्न भएको आरोप छ । प्रहरीका अनुसार बम बनाउँदै गर्दा २०६४ चैत २७ गते राति राजपुर नगरपालिकाको फरदवा गाउँमा विष्फोट भएको थियो ।

बिष्फोटमा घाइते भएकाहरूको हत्या गरेको उजुरी परेपछि अनुसन्धानका लागि सांसद आलमलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । भारतबाट ल्याएर बम बनाउन लगाउने क्रममा मृत्यु भएका र घाइते भएका केही व्यक्तिहरूलाई उनले इँटाभटाको चिम्नीमा हालेर गायब बनाएको आरोप लाग्दै आएको छ ।

Loading...