fbpx

विषादी परीक्षणमा प्रयोगशालाको प्रभावकारी उपयोग भएन

यज्ञ अधिकारी
रंगेली, ३ कात्तिक । प्रदेश १ सरकारले सञ्चालनम ल्याएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाको उपयोग प्रभावकारी रूपमा हुन सकेको छैन । प्रदेश सरकारले विदेशबाट आयात हुने तरकारी तथा खाद्य वस्तुसँगै स्थानीय उत्पादको पनि परीक्षण गर्ने उद्देश्यले स्थापना गरेको प्रयोगशालामा परीक्षण गराउने सेवाग्राहीहरू नआउँदा प्रभावकारी उपभोग हुन नसकेको हो ।

asf

अहिले उक्त प्रयोगशालामा प्रदेशका जनताले कत्तिको मात्रामा विषादीयुक्त तरकारीको प्रयोग गरिहेका छन् भन्ने नमुना आफैँ संकलन गरेर जानकारी लिने काम मात्र गरिरहेको छ । विराटनगरस्थित प्रदेश सरकार मातहतको बालीसंरक्षण प्रयोगशालाको कार्यालयमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा छ ।

अलग्गै कर्मचारीको दरबन्दी नहुँदा बालीसंरक्षण प्रयोगशालाका प्राविधिक कर्मचारीले नै त्यसमा समय दिइ परीक्षण गर्नेगरेका छन् । बिहान बेलुकाको समय पारेर विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा आएको नमुनाहरूको परीक्षण गर्ने गरेको बालीसंरक्षण कार्यालयकी सहायक प्राविधिक सीता वरालले बताइन्

विराटनगर भन्सारबाट अझै नमुना आएन

उक्त प्रयोगशालामा नमुना परीक्षणको लागि सुनसरीको भण्टाबारी नाकाबाट मात्र आलु र प्याजको नमुना आउने गरेको छ । विराटनगर भन्सार कार्यालयबाट भने परीक्षणको लागि तरकारी आउने गरेको छैन । भन्सार बिभागले प्रयोगशालालाई मान्यता नदिँदा अझै नमुना परीक्षणका लागि नआएको हो ।

परीक्षणका लागि अन्य तरकारी भने नगन्य रूपमा आउने गरेका छन् । स्थानीय उत्पादनको प्रयोगशालाले आफैँ संकलन गरेर परीक्षण गर्ने गरको छ । यसरी स्थानीयस्तरमा भएको परीक्षण जानकारीमा मात्र सीमित हुने गरेको बरालले बताइन् । परीक्षणपछि आएको परिणामको आधारमा कार्यान्वयन गर्ने अधिकार प्रयोगशालालाई छैन । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाका लागि नमुना संकलन परीक्षण र कार्यान्वयन गर्न समितिको आवश्यकता पर्छ । त्यो समिति अहिले बनेको छैन ।

दुई समूहका विषादीको परीक्षण

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगसालामा दुई समूहका विषादीको मात्र परीक्षण हुँदै आएको छ । अहिले बढी मात्रामा प्रयोग हुनेगरेको कार्वोमेट र अग्र्यानो फस्फेट समूहका विषादीको परीक्षण हुने गरेको बरालले बताइन् । दुई समूहमध्ये अग्र्यानो फस्फेट समूहको विषादीको परीक्षणमा प्रयोग गरिने विषादी बढी घातक हुने गरेको उनले बताइन् ।

आलुमा बढी विषादी फेला

परीक्षणअनुसार तरकारीमा विषादीको अवशेष ३५ प्रतिशतसम्म भए उपयोग गर्न सकिन्छ । ३५ भन्दा माथि ४५ प्रतिशतसम्म भए केही समय राखेर उपयोग गर्नुपर्छ । ४५ प्रतिशतभन्दा माथि भए चाँहि नष्ट गर्नुपर्छ । प्रयोगशालामा आलु र प्याजको परीक्षणको लागि बढी आउने गरेको र आलुमा बढी विषादी पाइने गरेको छ ।

२३ असारदेखि विषादी परीक्षण सुरु

एक नम्बर प्रदेश सरकारले बजारमा बिक्री भइरहेका उत्पादन भएका र आयात निर्यात हुने फलफूल र तरकारीमा विषादी भए–नभएको परीक्षण गर्न एक नम्बर प्रदेश सरकारले २३ असार २०७६ देखि सुरु गरेको हो । सरकारले १८ लाखमा मेशिन, ४ लाखमा ल्याब सामग्री र ३ लाखमा ल्याबशाला निर्माण गरेर विषादीको अवशेष परीक्षण गर्न थालिएको थियो । प्रयोगशालामा जो कोहीले नमुना ल्याएर विषादी परीक्षण गराउन सक्नेछन् ।

Loading...