fbpx

राष्ट्रपति भण्डारीको म्यान्मा भ्रमण सम्पन्न, जापान जाँदै

काठमाडौं ३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण पूरा गर्दै जापान जाने क्रममा छिन् ।

गत असोज २९ गते म्यान्मा पुगेकी भण्डारीको साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी छन् ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र म्यान्माका राष्ट्रपति मिन्तबीच राजधानी नेपित शहरमा भेटवार्ता भयो । राष्ट्रपतिसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु ची र कमान्डर इन चिफले पपनि भेट गरे । राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर चीको उपस्थितिमा म्यान्मा र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो ।

राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलले पिन ऊ लिनमा दुर्गा मन्दिर, नेशनल कान्दायजी पार्क, प्राचीन मन्दिर चैत्य आदिको शहर बगानको भ्रमण, पुरानो राजधानी यङ्गोनमा आङ सान सङ्ग्रहालय, महाविजय चैत्य र श्वेदागोन चैत्य अवलोकन गरेको छ । राष्ट्रपतिसँग नेपाली मूलका बर्मेलीहरुसँग भेटघाट हुनाका साथै म्यान्मा नेपाल मैत्री सङ्घ र म्यान्मा नेपाल चेम्बर अफ कमर्शको आयोजनामा विचार गोष्ठी पनि सम्पन्न भएको छ ।

नेपालका लागि म्यान्माका राजदूतले राष्ट्रपतिको सम्मानमा रात्रिभोजको पनि आयोजना गरेका थिए । राष्ट्रपतिसहितको प्रतिनिधिमण्डल जापानी सम्राट्को यही कात्तिक ५ गते हुने राज्याभिषेक समारोहमा सहभागी भई कात्तिक ६ गते स्वदेश फर्कनेछ ।

Loading...