fbpx

पत्रपत्रिकामा प्रदेश : स्थानीय तहमा कतै नगन्य कतै तीन गुण बढी कर्मचारी

विराटनगर ३ कात्तिक । कर्मचारी समायोजन व्यवस्थित हुन नसक्दा सबै भन्दा ठुलो असर स्थानीय तहमा परेको छ । कतै दरबन्दी भन्दा धेरै कम कर्मचारी छन् भने कतै दरबन्दी भन्दा तीन गुणा ज्यादा कर्मचारी छन् । धनकुटाको चौबीसे गाउँपालिकामा २५ जना कर्मचारीको दरबन्दी भएपनि हाल चारजनामात्रै कार्यरत छन् ।

कर्मचारी नहुँदा अधिकांस फाँटमा ताला लागेको छ । सामाजिक सुरक्षाको काम पनि कर्मचारी अभावमा प्रभावित भएको प्रशासकीय अधिकृत शशि राईले बताए । जिल्ला समन्वय समिति धनकुटामा जम्मा ३ जना कर्मचारी छन् । जिल्ला समन्वय अधिकारी, लेखापाल र नायबसुब्बा छन् । १३ जनाको दरबन्दी तोकिएको जिल्ला समन्वय अधिकारी तीर्थप्रसाद धितालले बताए । समितिमा चालक भने दुई जना छन् । धनकुटा नगरपालिकामा भने संघीय मामिला मन्त्रालयले दरबन्दी राखेको कर्मचारी संख्या ४९ जना भएपनि अहिले १ सय ४० जना कर्मचारी कार्यरत छन् । त्यहाँ कर्मचारीको भिड दरबन्दी भन्दा तीन गुणा भएको कान्तिपुर दैनिकमा खबर छ ।

विराटनगरमा पनि निगमलाई नाफा शिर्षकमा उद्घोष दैनिकले खबर छापेको छ । अमलेखगञ्ज डिपोबाट डिजेल आउन थालेपछि विराटनगर डिपोलाई पनि फाइदा भएको छ । भारतको बरौनी भन्दा अमलेखगञ्जको दुरी कम पर्ने भएको हुँदा कम खर्चमा ढुवानी हुने भएको हो । अहिले ढुवानी खर्चमा दैनिक सरदर ३ लाख रुपैयाँ बचत हुन थालेको छ । दशैं अघिदेखि विराटनगर डिपोमा अमलेखगञ्जबाट डिजल ल्याउन थालिएको हो । अमलेखगञ्जबाट डिजल ल्याउन थालेपछि ढुवानी व्यवसायीहरुको भने कमाई घटेको छ । पूर्वाञ्चल पेट्रोलिय ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौलाले एक ट्याकंरको महिनामा सरदर १५ हजार कमाई घटेको बताए ।

झापाका सीमा ४८ घण्टा बन्द शिर्षकमा ब्लाष्ट टाइम्समा खबर छ । भारतको विहारसँग जोडिएका झापाको सीमाक्षेत्र शनिवार बेलुकी ५ बजेदेखि सिल गरिएको छ । सोमबार बेलुकी ५ बजेसम्मको लागि बोर्डर सिल भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहारको किसनगञ्ज जिल्लामा अक्टोबर २१ तारिख (४ कात्तिक)मा उपचुनाब हुने भएकोले सीमा सिल गरिएको हो । बिहारतिरको बोर्डर सिल भएपनि पश्चिम बंगालतर्फको भने खुला नै रहेको छ । उपनिर्वाचन हुने भएपनि भारतीय प्रहरीले सीमा क्षेत्रमा पनि उच्च सतर्कता अपनाएको छ ।

Loading...