fbpx

सिरी ‘ए’ : रोनाल्डो र मिरालेमको गोलमा युभेन्टसको जित

विराटनगर, ३ कात्तिक । इटालियन सिरी ‘ए’ मा डिफेन्डिङ च्याम्पियन क्लब युभेन्टसले जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्टसले बोलोग्नाविरुद्ध २–१ गोलको जित दर्ता गरेको हो ।

a

युभेन्टसको घरेलु मैदानमा भएको उक्त खेलमा घरेलु टोलीलाई जिताउन क्रिस्टियानो रोनाल्डो र मिरालेम पिजानिकले समान एक–एक गोल गरे । यता, पराजित टोलीका लागि डेनिलो लाराङ्गेइराले एक गोल गरे ।

घरेलु टोली युभेन्टसले रोनाल्डोको गोलमा सुरुआती अग्रता बनाएको थियो । रोनाल्डोले खेलको १९औं मिनेटमा गोल गर्दै पाहुना टोलीविरुद्ध अग्रता दिलाएका थिए । तर, खेलको २६औं मिनेटमा बोलोग्नाका लागि डेनिलोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफमा युभेन्टसले एक गोल गर्‍यो । युभेन्टसका लागि खेलको ५४औं मिनेटमा मिरालेमले गोल गरे । त्यसपछि बाँकी समयमा दुवै टोलीले गोल नर्ग सकेनन् र युभेन्टसले उक्त खेल २–१ गोलले जित्यो ।

df

यो जितसँगै युभेन्टसले २२ अंक बनाएको छ । जारी लिगको शीर्ष स्थानमा रहेको उसले ८ खेलमध्ये ७ खेलमा जित र १ खेलमा बराबरी खेलेको छ । लिगको दोस्रो स्थानमा भने इन्टर मिलान रहेको छ । इन्टरसँग १८ अंक छ । यता, पराजित बोलोग्ना भने ९ अंकका साथ १२औं स्थानमा छ ।

Loading...