fbpx

बार्सिलोनाको जितमा स्वारेजले बनाए यस्तो रेकर्ड

एजेन्सी, २ कात्तिक । डिफेन्डिङ च्याम्पियन क्लब बार्सिलोनाले ला लिगाअन्तर्गत आफ्नो छैटौं जित दर्ता गर्‍यो । शनिबार भएको खेलमा बार्सिलोनाले इएबारविरुद्ध ३–० गोलको जित दर्ता गरेको हो ।

सहज जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिँदा फरवार्ड एन्टेनियो ग्रिजम्यान, कप्तान लियोनल मेस्सी र लुइस स्वारेजले समान एक–एक गोल गरे । इएबारको घरेलु मैदानमा भएको सो खेलको १३औं मिनेटमा बार्सिलोनाले ग्रिजम्यानको गोलबाट अग्रता बनायो ।

यस्तै खेलको ५८औं मिनेटमा कप्तान मेस्सीले ग्रिजम्यानको पासको सदुपयोग गर्दा ६६औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई ३–० गोलको जित दिलाए । मेस्सीको पासमा गोल गरेका स्वारेजले उक्त गोलसँगै नयाँ रेकर्ड बनाएका छन् । उरुग्वेका स्टार स्वारेजले बार्सिलोनाको इतिहासमा चौथो सर्वाधिक गोलकर्ता बने ।

dsf

यो रेकर्ड यसअघि जोसेप सामिटरको नाममा थियो । सन् १९१९ देखि १९३२ सम्ममा बार्सिलोनामा रहँदा सामिटरले १ सय ८४ गोल गर्दै चौथो सर्वाधिक गोलकर्ता बनेका थिए । यस्तै सन् २०१४ देखि बार्सिलोनाबाट खेलिरहेका स्वारेजले पनि उनीसँग बराबरी गरेका छन् । स्वारेजले इएबारविरुद्ध गोल गर्दा बार्सिलोनाका लागि १ सय ८४औं गोल गरे ।

स्वारेजले बार्सिलोनाका लागि २ सय ५६ खेल खेल्दै १ सय ८४ गोल गरे । यस सिजनको लिगमा स्वारेजले ५ गोल गरिसकेका छन् । बार्सिलोनाको सर्वाधिक गोलकर्ताको सूचीमा कप्तान लियोनल मेस्सी छन् । मेस्सीले बार्साका लागि ६ सय ५ गोल गरेका छन् भने केसार रोड्रिग्वेज सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा छन् । केसारले २ सय ३२ गोल गर्दा १ सय ९४ गोलसहित लस्सी कुबाला सर्वाधिक गोलकर्ताको तेस्रो स्थानमा छन् ।

इएबारविरुद्ध सहज जित निकाल्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । ९ खेलबाट १९ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । एक खेल कम खेलेको रियल मड्रिड १८ अंकका साथ दोस्रो स्थानमा छ ।

Loading...