fbpx

दक्षिणी सुडानमा बाढीका कारण २ लाख जना विस्थापित

जुबा २ कात्तिक । दक्षिणी सुुडानमा आएको बाढीबाट कम्तीमा पनि २ लाख नागरिक विस्थापित भएका छन् । दक्षिणी सुडानका उत्तरपूर्वी क्षेत्रमा आएकोे बाढीमा परी ती नागरिक विस्थापित भएका हुन् ।

नाइल नदीको किनारातिर रहेको बस्तीका नागरिक बढी प्रभावित भएको सुरक्षाअधिकारीहरुले बताएका छन् । कतिपयलाई सुरक्षित स्थान खोजेर सारिएको छ भने अधिकांश आफै भागेर सो क्षेत्रमा पुगेका छन् ।

सुरक्षित स्थानतर्फ भाग्नेमा अधिकांश सुडानबाट आएका शरणार्थीहरु रहेका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोगले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा सुडानी शरणार्थीहरुको शिविर नै बाढीको चपेटामा परेकोले उनीहरु त्यहाँबाट भाग्न बाध्य भएका बताइएको छ ।
बाटो विग्रिएको छ भने शरणार्थीहरुका छोराछोरी पढ्ने विद्यालय पनि पानीले भरिएको छ । बाढीले अन्य भौतिक संरचनाहरुका साथै खानेपानी, बिजुली, अस्पतालजस्ता आधारभूत सुविधाहरुको संरचनाहरु पनि भत्काइदिएको बताइएको छ ।

अस्पतालमा नै पानी पसेपछि नागरिकको स्वास्थ्य सुविधा अवरुद्ध भएको छ । जसका कारण घाइतेको उपचारको काम पनि हुन नसकेको बताइएको छ ।

इथियोपियाको सीमा क्षेत्रबाट आएको बाढीले यहाँका नदीहरुको सतह बढ्न पुगेको छ । सुडानमा जारी द्धन्द्धका कारण पनि करिब १५ लाख नागरिक आन्तरिक रुपमा विस्थापित भएर शरणार्थीको रुपमा जीवन व्यतित गरी आएका पनि राष्ट्रसंघीय शरणार्थी आयोगले जानकारी दिएको छ ।

Loading...