fbpx

उत्तरी सिरियामा जारी टर्कीको युद्धविरामको अनुगमन

सिरिया २ कात्तिक । उत्तरी सिरियामा टर्कीले पाँच दिनका लागि गरेको युद्धविरामको अवस्थाको अनुगमन गरिएको मानवअधिकारवादी संस्थाहरुले जनाएका छन् ।

अमेरिकाको आग्रहमा सिरियाको उत्तरपूर्वी क्षेत्रमा गएको अक्टोबर ९ बाट शुरु भएको टर्कीको हवाई र स्थलगत आक्रमण केही दिनका लागि रोकिएको छ । त्यस युद्धविरामको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि स्वागत गरेका छन् । सिरियाली द्धन्द्धको अनुगमन गरिरहेको मानवअधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ ले टर्कीले गरेको सो युद्धविरामको अनुगमन गरिएको हो ।

केही दिन अघि टर्कीले गरेको युद्धविरामबाट वार्ताको र त्यस क्षेत्रमा जारी रहेको हिंसाको अन्त्यका लागि अर्को कुनै पनि वातावरण बनोस् भन्ने पक्षमा सो संस्थाले अनुमगन गरिरहेको जानकारी गराएको छ । टर्कीले सीमावर्ती सिरियाली भूभागमा भीषण सैन्य कारबाही थालेपछि टर्कीसँग वार्ता गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स बिहीबार टर्की पुगेका थिए ।

टर्कीले सिरियामा गरेको आक्रमणमा करिब ३ लाख मानिस विस्थापित भएका अनुमान गरिएको छ । त्यसैगरी आक्रमणमा परी ५ सयभन्दा बढी सर्वसाधारण मारिएका छन् । मरिएका यी सर्वसाधारण प्रायः कुर्द समुदायका नागरिक नै भएको अधिकारवादीहरुले जानकारी दिएका छन् । सिरिया वर्षौँदेखि गृहयुद्धमा फसिरहेको छ ।

Loading...