fbpx

चितवनको सौराहा बिर्साउने कोशीटप्पु

चितवनको सौराहालाई हात्ती सफारीको प्रमुख गन्तव्य मानिन्छ । हात्ती सफारीकै लागि सौराहमा वार्षीक हजारौं पर्यटकहरु पुग्ने गर्छन् । तर पछिल्लो समय प्रदेश १ को कोशीटप्पु वन्यजन्तु आरक्ष चितवनको सौरहा बिर्साउने गन्तब्यको रुपमा स्थापित हुन थालेको छ ।

वि.स.२०३२ सालमा अर्ना संरक्षणकालागि घोषणा गरिएको कोशी टप्पु बन्यजन्तु आरक्षणको क्षेत्र १ सय ७५ वर्ग किलोमिटरमा फैलिएको छ । नेपालमा रैथाने अर्ना पाइने एकमात्र आरक्ष क्षेत्रमा २०५२ सालदेखि हात्तीको संरक्षणका लागि हात्तीसार पनि सञ्चालन गरिएको छ । हात्तीसारमा सर्बसाधरणलाई हात्ती सफारीको सुविधा पनि उपलब्ध गराइएको छ ।

आरक्षको अवलोकनका लागि गत वर्ष १८ हजार भन्दाबढी पर्यटकहरु आएको रेन्जर लक्ष्मण महतो बताउँछन् । हात्ती सफारी र अर्ना अवलोनकालागि विभिन्न क्षेत्रबाट पर्यटकहरु आउने गरेको उनले बताए । पछिल्लो समय पूर्व क्षेत्रको चर्चित पर्यटकीय गन्तब्यको रुपमा कोशीटप्पु स्थापित भएको छ । चितवनपछिको ठूलो हात्तीसार भएको कोशीटप्पु हात्ती सफारीका लागि सौरहा भन्दा कम छैन् ।

हात्ती प्रजनन केन्द्रको रुपमा स्थापित कोशी टप्पु प्रदेश १ को प्रमुख पर्यकटकीय गन्तब्य पनि हो । आरक्ष क्षेत्रमा अर्नासँगसँगै जंगली हात्तीपनि छन् । सुनसरी, सप्तरी र उदयपुर जिल्लालाई छोएको आरक्षणमा शैक्षिक, अध्ययन अनुसन्धानका लागि विभिन्न क्षेत्रबाट मानिसहरू कोशी टप्पुमा आउने गरेको मध्यवर्ती क्षेत्र उपभोक्ता समिति श्रीपुर–हरिपुरका अध्यक्ष दयाशंकर झा बताउँछन् । उनी आरक्षण खुला विश्वविद्यालयको रुपमा स्थापित भएको बताउँछन् ।

विस २०४४ सालमा रामसार सुचीमा सुचीकृत आरक्षमा ४ सय ८९ प्रजातिका चराहरू, २ सय २० भन्दाबढी अर्ना पाइन्छ । ठूलो सिमसार क्षेत्र रहेको आरक्षणमा साइवेरियाबाट घुमन्ते चराहरू पनि आउँछन् । कोशी टप्पु आरक्षमा लोपोन्मुख अवस्थामा रहेको अर्नाका साथै हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदरलगायत जंगली जनवार पाइन्छ ।

टप्पुमा चञ्चले ‘कुशहाकली’

कोशीटप्पु पुग्ने पर्यटकहरुलाई कुशहाकलीको व्यवहारले चकित बनाउँछ । तीन महिना अघि जन्मिएकी कुशहाकली हात्तिसार वरपर मान्छे देख्न हुँदैन् कुद्दै आउँछे । ओल्लो सार पल्लो सार नथाकेसम्म कुदिरहन्छे । गलेपछि आमाको छेउमा पुगेर बस्छे, भोकलागे दूध पिएर फेरी उही दैनिकीमा फर्कन्छे । यो दौडधुप कोशी टप्पु बन्यजन्तु आरक्षण भित्रको हात्तिसारमा हुर्कदै गरेकी छावा (हात्तीको बच्चा) कुसाहाकलीको हो ।

कुशहाकलीले हातिसारका लागि नयाँ खुसी लिएर आएकी छ । यताउता कुदिरने कुसहाको उपद्रो बढी छ । ‘यता उत्ता कुदिरहने हात्ती ठूलो भएपछि फुर्तिलो हुन्छ ।’ माउते रामगुलाव चौधरी भन्छन् ‘सानामा अल्छि गर्ने बच्चा पछि ढिलो हुन्छन् ।’

कुशहाकली १० वर्षीया लक्ष्मीकलीको पहिलो सन्तान हो । हात्तिसारमा दमदमकलीकी ११ महिने छावा कोशीकली पनि छन् । तर कोशीकलीको स्वभाव कुशाहाकलीको जस्तो छैन् । हात्तिसारमा पाँचवटा माउ र दुई छावा गरी सातवटा हात्ती छन् । हुर्कदै गरेका दुई छावासँगसँगै माउतेको ध्यान १६ वर्षे सरस्वतीकली तर्फ केन्द्रित छ । २०७७ कात्तिकमा ब्याउने सरस्वतीको स्याहारका लागि अहिले देखि नै ध्यान दिन थालेका छन् । हात्तिसारका माउतेको ध्यान बच्चा स्याहार्न र गर्भवती हात्तीको हेरचाहमाा केन्द्रीत हुने चौधरी बताउँछन् ।

टप्पुमा सात वर्षदेखिको पाहुना ‘मकुना’

कोशी टप्पुमा रहेका पाँचवटा हात्ती पोथी हुन् । टप्पुको भाले भने जंगली हात्ती ‘मकुना’ हो । टप्पुकालागि मकुना नयाँ होइन् । सात वर्षयता निरन्तर आइरहेको मकुनाकै सन्तान हुन् कुशाहा र कोशीकली । दुबै बलात्कारबाट जन्मिएको बच्चा भएको चौधरी बताउँछन् । कोशी टप्पु आसापसको क्षेत्रमा उपद्रो मच्चाउदै आएको मकुना वर्षका २–३ पटक कोशी हात्तिसार आसपास नै हुन्छ ।

आरक्षणको सुरक्षाकालागि विद्युतिय तारबार गरिएको छ । आरक्षका कर्मचारीले हरेक बेलुका मकुनाका लागि बाटो खाली गर्न बिजुलीका तारमा करेन्ट रोकिदिन्छन् । ‘मकुना प्राय राति आउँछ ।’ चौधरी भन्छन् ‘ हात्ती तयार नभए जवरजस्ती गरेर फर्कन्छ ।’

हात्तिसारमा भाले हात्ति नभएका कारण जंगली हातीलाई प्रवेश गर्न दिइरहेको उनले बताए । हात्तीसारमा आउने माकुनाको उपद्रो पनि उस्तै छ । हात्तीको हेरचाहका लागि माउते र हेरालु बस्ने टहरामा क्षति पूर्याउने गर्छ ।

हात्तीलाई पढाउने मास्टर

३३ वर्षयता हात्तीलाई तालिम दिदै आएका चौधरी हात्तीलाई सिकाउने मास्टर हुन् । जमिनको ठूलो प्राणी हात्तीलाई वशमा राख्न कतिपय अवस्थामा इसारा काफी हुन्छ । तर माउते ढाडमा नचढेसम्म बोल्ने भाषा बेग्लै भएको उनले बताए । ‘हात्तीमाथि चढेपछि कोट्याएर निर्देशन दिन सकिन्छ ।’ उनी भन्छन् ‘ हात्तीमाथि चढ्न अघि भने बेग्लै भाषा बोल्नु पर्छ ।’

उनका अनुसार हात्तीलाई बसाउनका लागि ‘बैठ’ भन्ने शब्द प्रयोग गर्नुपर्छ । बसेको हात्तीलाई उठाउँदा भने ‘मैल’ शब्द प्रयोग गर्नुपर्छ । अगाडी बोलाउनु पर्दा ‘अगत’ र पछाडी पठाउन ‘छौं’ भन्ने शब्दको प्रयोग गुर्नपर्छ । माउते काँधमा चढेको अवस्थामा भने यात्रा तय गर्दा कानमा खुट्टाले कोट्याउनु पर्ने उनी बताउँछन् ।

Loading...