fbpx

विराटनगरमा २०१४ सालमा भएको भाषा आन्दोलनको कथा

यसरी भएको थियो २०१४ सालमा विराटनगरमा भाषा आन्दोलन

केशवप्रसाद गौतम विराटनगर महानगर निवासी प्रगतिशील साहित्यकार हुन् । विराटनगरको ऐतिहासिक विष्णुमाया पुस्तकालय, पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठानलगायत विभिन्न प्रगतिशील संघसंस्थाहरूसँग जोडिएका गौतम नेपाल राष्ट्रको स्वाधिनता र राष्ट्रियताबारे सचेत छन् । वि.सं २०१४ सालामा हिन्दी भाषाभाषीका आन्दोलनविरुद्ध नेपाली भाषा समिति गठन गरेर विराटनगरमा आन्दोलन भएको थियो । नेपाली भाषा र संस्कृतिको रक्षा गर्न विराटनगरबासीले २०१४ सालमा गरेको आन्दोलनको यर्थाथ कथा साहित्यकार गौतम यसरी सुनाउँछन्……

aa
केशव गौतम (साहित्यकार)

प्रजातन्त्र आएपनि भाषाले सम्मान पाएको थिएन

२००७ सालमा नेपालमा प्रजातन्त्र आएपनि नेपाली राष्ट्रियता सबल भएको थिएन । त्यसबेला नेपालको तराई क्षेत्रको अवस्था साह्रै नाजुक थियो । विराटनगरका स्कूलहरूमा अधिकांश शिक्षकहरू भारतीय थिए । शिक्षाको माध्यम हिन्दी थियो । पाठ्यपुस्तकहरूमा ‘‘हमारे प्रधानमन्त्री जवाहरलाल नेहरु है’’, ‘‘हमारे रास्ट्रपति डा राजेन्द्रप्रसाद है’’जस्ता कुरा नेपाली विद्यार्थीहरूले पढ्नुपर्दथ्यो । स्कूलमा प्रार्थना गर्दा ‘‘जनगण मन अधिनायक जय हे भारत भाग्य विधाता’’ भनेर प्रार्थना गर्नुपर्दथ्यो । स्कूलको के कुरा, त्यसबेला हाम्रा देशका नेताहरूमा पनि भारतीय भाषाप्रति मोह थियो । मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला जस्ता ठूला नेताहरू त्यसबेला नेपालको राष्ट्र भाषा हिन्दी हुनुपर्छ भन्नुहुन्थ्यो । नेपालका ठूला–ठूला राजनेताहरूमा हिन्दी भाषाप्रति मोह थियो भन्ने कुरा २०१४ साल असोज महिनामा राष्ट्रिय कांग्रेस, नेपाली कांग्रेस र प्रजा परिषद्को त्रिदलीय मोर्चाले विराटनगर शहीद मैदानमा आयोजना गरेको आमसभाले प्रष्ट पारेको थियो ।

लोप हुन नदिन राष्ट्रिय भाषा समितिको गठन

विपी कोइराला, डा डिल्लीरमण रेग्मी र भद्रकाली मिश्र वक्ता भएको सो आमसभामा भद्रकाली मिश्रले हिन्दी भाषामा बोल्न सुरु गरेपछि प्रदीपकुमार थपालिया र मेघराज विष्टलगायत नेपाली भाषाप्रेमीहरूबीच भनाभन भयो । आमसभा हुन सकेन । त्यस घटनाको केही दिनपछि प्रदीपकुमार थपालिया र राजेन्द्र आचार्यलाई कोइराला निवास बोलाइयो । उहाँहरू कोइराला निवास गएपछि विपी कोइरालाले वहाँहरूलाई प्रश्न गर्नुभयो, तपाईँहरू को हो, राष्ट्रभाषा निर्धारण गर्ने ? राष्ट्र भाषा के हुनुपर्दछ भन्ने कुरा त संविधानसभाले तय गर्नेछ । वहाँहरूले विपी कोइरालालाई जवाफमा भन्नुभयो, ‘यो देश नेपाल हो र यहाँको राष्ट्रभाषा नेपाली हो । त्यसको लागि संविधानसभाको निर्णयको आवश्यकता पर्दैन, किनभने यो स्वतःसिद्ध कुरा हो ।’

विपी कोइरालासँग यति कुरा भइसकेपछि आफ्नो देशमा आफ्नै राष्ट्रभाषा हुनुपर्दछ र आफ्नै भाषामा पठनपाठन हुनुपर्दछ भन्ने सोच भएका केही युवाहरू विराटनगरमा लक्ष्मीराजभक्त नेपालीको घरमा भेला हुनुभयो । नेपालमा आफ्नो राष्ट्रिय भाषा र संस्कृति लोप हुन नदिन र नेपाली भाषा, कला, र संस्कृतिको विकास गर्नका लागि उहाँहरूले नेपाली राष्ट्रिय भाषा समितिको गठन गर्नुभयो । राष्ट्रिय भाषा समितिको अध्यक्षमा कमलप्रसाद घिमिरे, सचिवमा लक्ष्मीराजभक्त नेपाली तथा सदस्यहरूमा प्रदीपकुमार थपलिया, डम्बरबहादुर कार्की आदि रहनु भएको थियो । त्यसबेला विराटनगर शंकरपुरस्थित जनता हाई स्कूलमा लक्ष्मीराजभक्त नेपाली कार्य समितिको सचिव हुनुहुन्थ्यो ।

शिक्षामन्त्री लक्ष्मीप्रसाद देवकोटाले परिपत्र गरे

उहाँको आग्रहका कारण प्रदीपकुमार थपालियाले अवैतनिक शिक्षकका रूपमा त्यहाँ पढाउन थालेको हुनुहुन्थ्यो । वहाँले पढाउन थालेको केही दिनमै हिन्दी भाषामा पढाउन अस्वीकार गर्दै नेपाली भाषामा पढाउने माग गरेर सञ्चालक समितिलाई निवेदन गर्नु भयो । सञ्चालक समितिले वहाँलाई नेपाली भाषामा पढाउने अनुमति दिनुका साथै नेपाली भाषामै पठनपाठन गर्नुपर्ने, भारतीय परिवेशका पाठ्य पुस्तकहरू हटाइनुपर्ने र ‘जनगण मन…’ मा रोक लगाउनुपर्ने समितिको निर्णय सुनाएपछि भारतीय शिक्षकहरूमा खैलाबैला मच्चियो ।

भारतीय शिक्षकहरूले नेपाली भाषामा पढाउने कुराको विरोध गरे र सहयोग लिनका लागि तराई कांग्रेसको शरणमा पुगे । तराई कांग्रेसले भारतीय शिक्षकहरूको सहयोग गर्ने निर्णय गर्‍यो र जनता स्कूलको सञ्चालक समितिको विरोध गर्दै ‘तीनपैनीमे एक नयाँ प्रकारका सरकार गठन’ भन्ने शीर्षकको पर्चा निकाल्यो । यता नेपाली भाषाभाषीहरूमा पनि जागरण आइसकेको थियो । नेपाली राष्ट्रिय भाषा समितिले पनि ‘नेपाल नेपालीको हो’ भनि पर्चा निकाल्यो र महानन्द सापकोटाको अध्यक्षतामा, मेघराज विष्ट उपाध्यक्ष प्रदीपकुमार थपलिया सचिव र सदस्यहरूमा लक्ष्मीराजभक्त नेपाली, डम्बरबहादुर कार्की, जगदीश नेपाली र राजेन्द्र आचार्य रहेको ‘नेपाल भाषा समिति’ बनाएर ‘हाम्रो राष्ट्रिय भाषा एवम् संस्कृतिको विकास गर्छौँ, गछौँ’ भन्ने नाराका साथ विराटनगरका विभिन्न ठाउमा प्रदर्शन गर्‍यो  समितिले आन्दोलन चर्किएपछि तत्कालीन नेपाल सरकारका शिक्षामन्त्री लक्ष्मीप्रसाद देवकोटाले नेपाली भाषामा पठनपाठन गर्न परिपत्र जारी गर्नु भयो ।

भारतीय शिक्षकहरूले कालो दिवस मनाए

यसरी नेपालमा राष्ट्रभाषाप्रतिको जागरण आएको र तत्कालीन सरकारले समेत समर्थन गरेकाले विराटनगरका स्कूलहरूमा कार्यरत भारतीय शिक्षकहरूले विराटनगरस्थित भारतीय महावाणिज्यदूतसँग सम्पर्क गरी नेपाल सरकारले गरेका परिपत्रको विरोधमा २०१४ साल मंसिर ४ गतेलाई ‘कालो दिवस’का रूपमा मनाउने भनी विरोधकार्यक्रम गर्ने निर्णय गरे र एउटा बृहत् जुलुस र आमसभाको आयोजना गरे ।

जुलुसमा विराटनगरका मात्र नभइ भारतको जोगबनी फार्बिसगञ्ज, पूर्णियासम्मका भारतीयहरू सामेल भएका थिए । जुलुसले नगर परिक्रमा गरी शहीद मैदानमा पुगेर आमसभा गर्ने कार्यक्रम थियो । जुलुसमा उत्तेजक नारा लगाएको थियो । ‘‘तराई प्रान्त रहेगा, हम अपना शासन आप करेगें, तराईकी भाषा हिन्दी हैं’’, यसरी नारा लगाउँदै जुलुसको नेतृत्त्व गर्नेहरू तराई कांग्रेसका नेताहरू डा. अवध नारायण, तोलाराम दुगड, चैतुलाल चौधरी, आसुलाल बोहराआदी हुनुहुन्थ्यो ।

भाषाशास्त्री महानन्द सापकोटाको नेतृत्त्वमा प्रतिकार समिति बन्यो

उता वरिष्ठ साहित्यकार तथा भाषाशास्त्री महानन्द सापकोटाको अध्यक्षतामा भारतीय भाषाभाषीको जुलुसको प्रतिकार गर्न शहीद मैदानमा दिउँसो देखि नै आमसभा सुरु गरिसकेको थियो । नेपाली भाषाको विरोधमा भइरहेको जुलुसले पनि शहीद मैदानमा गएर आमसभा गर्ने खबर सुनेपछि दुईथरीका बीचमा ठूलो संघर्ष हुनसक्ने सम्भावना देखेर होला बडाहाकिम तारकबहादुर शाहले भारतीय भाषाभाषीहरूको जुलुसलाई शहीद मैदानमा पस्न नदिइ कोशी अञ्चल अस्पतालतर्फ अगाडि बढ्न लगाए । शहीद मैदानमा आमसभा गर्ने अवसर नपाएपछि भारतीय भाषाभाषीहरूको जुलुस त्यही बाटो अगाडि बढेर कोशी अञ्चल अस्पातलको चौरमा आमसभा गर्न लाग्दा अस्पतालका डक्टरहरूले आपत्ति गरेपछि त्यो जुलुस आमसभा गर्न हाटखोलातर्फ लाग्यो ।

त्यसबेलासम्म पूर्वाञ्चलका राष्ट्रप्रेमी जनताको ठूलो जमघट हाटखोलामा भइसकेको थियो । धरानबाट पाँच ट्रक नेपालीहरू विराटनगर आइसकेका थिए । धनकुटा, तेह्रथुमबाट पनि कैयौँ राष्ट्रप्रेमी नेपालीहरू विराटनगर आइसकेका थिए । कतिपयलाई प्रहरीहरूले मूलघाटमा रोक्ने काम गर्‍यो । हाटखोलामा आमसभा भइरहेको ठाउँमा धरानबाट आएका ड्राइभरहरूको समूहको एक जनालाई जुलुसमा आएका भारतीयहरूले कुटपिट गरी मरणासन्न पारेको खबरले सभामा ठूलो सनसनी उत्पन्न गर्‍यो।

नेपाली र भारतीय भाषी समूहबीच कुटाकुट भयो

त्यस घटनापछि नेपाली भाषाभाषी समूह र भारतीयहरूका बीचमा भनाभन र कुटाकुट हुन थाल्यो । त्यस्तो हुनथालेपछि डीआइजी पहलसिंह लामाले नेपालमा आई कुटपीटमा भाग लिने भारतीयहरूलाई पक्राउ गर्ने आदेश दिनासाथ सीमाना पारीबाट आएका भारतीयहरूको भाग्ने क्रम सुरु भयो । यसरी भारतबाट जुलुसमा भाग लिन आएका भारतीयहरू भाग्न थालेपछि उक्त जुलुसको नेतृत्त्व गर्ने डा. अवधनारायण, तोलाराम दुगड, चैतुलाल चौधरी, आसुलाल बोहराहरू पनि त्यहाँबाट भागे । उनीहरू लक्दै–छिप्दै कुनै प्रकारले भारत पुगी ज्यान जोगाउन सफल भए ।

तराई कांग्रेसका सभापति बेदानन्द झाले आत्मआलोचना गरे

नेपाली भाषा विरोधीहरू भागेपछि नेपाली भाषाप्रेमीहरूको जुलुसले ‘नेपालको राष्ट्रभाषा नेपाली हो’, ‘विदेशी दलाल मूर्दावाद’, ‘नेपाली संस्कृति जिन्दावाद’ आदि नाराहरू लगाउँदै नगरपरिक्रमा गर्‍यो। त्यसको केही दिनपछि नगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बनेको शान्ति व्यवस्था समितिले बडाहाकिम तारकबहादुर शाहको निवासमा राखेको बैठकले भारतीय भाषाको वकालत गर्नेहरूलाई लिखित माफी माग्यो । माफी दिने निर्णय गरेपछि वहाँहरू सबैले नेपाली राष्ट्रभाषा स्वीकार गर्छौँ, पठनपाठन नेपालीमा भएको स्वीकार गर्छौँ भनी लिखित रूपमा भनेपछि मात्र वहाँहरूले नेपाल प्रवेश गर्नुभएको थियो ।

२०१४ सालमा विराटनगरमा भएको भाषा काण्डमा नेपाल राष्ट्र नै आन्दोलित भएको थियो । राष्ट्रवादी र प्रगतिशील चरित्रका डा. केआइ सिंह त्यसबेला देशका प्रधानमन्त्री हुनुहुन्थ्यो । शिक्षामन्त्री महाकवि लक्ष्मीप्रसाद देवकोटा हुनुहुन्थ्यो । यस्ता राष्ट्रप्रेमी प्रगतिशील व्यक्तिहरूको हातमा देशको बाग्डोर भएको कारणले पनि २०१४ सालको भाषा काण्डमा नेपाली भाषाको जित भएको थियो । विराटनगरमा भाषाकाण्ड भएको केही दिनपछि तराई कांग्रेसका तत्कालीन नेता एवम् सभापति बेदानन्द झाले काठमाडौंको भुगोल पार्कमा जनसभा बोलाएर हाम्रो आन्दोलन गलत थियो भनी आत्मालोचना गरेपछि भाषाकाण्ड समाप्त भएको थियो ।

Loading...