fbpx

पत्रपत्रिकामा प्रदेश : कोलीफर्म भेटिएको उद्योगका सञ्चालकलाई धरौटीमा छोड्न अदालतको आदेश

विराटनगर २ कात्तिक । दिसामा पाइने जीवाणु कोलीफर्म भेटिएको विराटनगर ७ मा रहेको ऊँ जेके पानी उद्योगका सञ्चालकहरुलाई जनही २ लाख रुपैयाँका दरले धरौटीमा छोड्न जिल्ला अदालत मोरङले आदेश दिएको छ ।

तीन जना सञ्चालकलाई ६ लाख धरौटी लिएर छोड्न अदालतले आदेश दिएको हो । न्यायधीश सूर्यप्रसाद अधिकारीको इजलासले उद्योगका सञ्चालक जितेन्द्र यादव, कौशलेन्द्र कुमार कर्ण र ओमप्रकाश राउतलाई जनही २ लाख रुपैयाँका दरले धरौटीमा छोड्न आदेश दिएको छ । उनीहरु धरौटी बुझाएर छुटेको अदालतका श्रेस्तेदार ईश्वरमणि ओझाले बताए ।

खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गत भदौ १७ गते पानी उद्योगमा अनुगमन गरि पानी उत्पादनमा लापरवाही भएको फेला पारेको थियो । उद्योगको पानी विक्रि वितरणमा रोक लगाएर कार्यालयले नमुना संकलन गरि परिक्षण गर्दा कोलीफर्म भेटिएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सरकारी वकिलमार्फत अदालतमा मुद्धा दर्ता गराएको हो । यो समाचार ब्लाष्ट टाइम्समा छ ।

मुख्यमन्त्रीको अगुवाईमा कुलमान र अमनलालको भेट, प्रशारण लाइनको काम ४५ दिनभित्र सक्ने सहमति शिर्षकमा उद्घोष दैनिकमा समाचार छ । मुख्यमन्त्री कार्यालयमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य अमनलाल मोदी सहितको उपस्थितीमा छलफल भएको छ । दुहबी कटहरी ३३ केभीए प्रशारण लाइनको अबरोध हटाउने विषयमा मुख्यमन्त्री शेरधन राईको सकृयतामा सहमति भएको हो ।

बुहारीको धुमधाम बिहे शिर्षकमा उद्घोष दैनिकमै खबर छ । मोरङको केराबरी ९ का कुवेरप्रसाद पोखरेलले एकल बुहारी सुनिताको छोरी सरह धुमधामले विवाह गरिदिएका छन् । झापा धैलाडुब्बाका बलबहादुर कार्कीसँग बुहारीको विवाह गरिदिएका हुन् । सुनिताका पति १० वर्ष अघि दुर्घटनमा मृत्यु भएको थियो । उनकी एक छोरी छिन् ।

उदयपुरको त्रियुगा, चोदण्डी र बेलका नगरपालिका तथा सुनसरीको धरान र बराह क्षेत्रमा काट्ने बेला भएको धानमा फौजी किराको प्रकोप देखिएको समाचार कान्तिपुर दैनिकमा छ । फौजी किराले झापामा ४ सय २५ बिघा, उदयपुरमा ३ सय बिघा, सुनसरीमा ७५ बिघा र मोरङमा २० बिघामा क्षती पुर्याएको छ । पाकेकको धान फौजी किराले झारिदिँदा किसान मर्कामा परेका छन् ।

Loading...