fbpx

ब्रेक्जिट सम्झौता अनुमोदनका लागि जोनसनको कसरत जारी

लण्डन १ कात्तिक । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिट सम्झौता अनुमोदनका लागि शुक्रबार तीव्र पहल सुरु गरेका छन् । बेलायती संसदको तल्लो सभा ‘हाउस अफ कमन्स’मा भोली (शनिबार) ब्रेक्जिट सम्झौताका लागि हुने मतदानमा केही सांसदहरूलाई आफ्नो पक्षमा ल्याउन उनले अभियानलाई सशक्त बनाउन थालेका हुन् ।

प्रधानमन्त्री जोनसनले बे्रक्जिट अभियानलाई सशक्त बनाएको ब्रेक्जिट पक्षधर बेलायती नेताहरूले बताएका छन् । यसलाई बेलायतका प्रमुख समाचार संस्थाहरूले विशेष महत्वका साथ प्रस्तुत गरेका छन् । जोनसनले यूरोपेली संघ (इयू)सँग बिहीबार ब्रेक्जिटका लागि नयाँ सहमति गरेपनि सहमति उपलब्धिमुलक नभएको भन्दै विपक्षीहरुले विरोध गरिरहेका छन् ।

बेलायतको फाइनान्सियल टाइम्सले ब्रेक्जिटका लागि प्रधानमन्त्री जोनसनले गरेको नयाँ सहमतिलाई औपचारिकता प्रदान गर्न बेलायती संसदबाट अनुमोदन हुनुपर्ने र अनुमोदनको लागि सहमतिको पक्षमा ३२१ मत आउनु पर्ने जनाएको छ । तर जोनसनसँग ३१८ मत रहेको छ । यदि पछिल्लो सहमतिलाई संसदले अनुमोदन गरेमा ब्रेक्जिटबारे देखिँदै आएको तनावलाई अन्त्य गर्नेछ ।

यदि शनिबारको अन्त्यसम्ममा कुनै सम्झौता हुन नसकेमा बेलायतले इयूको सदस्यता बढाउन आवश्यक पर्ने कानूनलाई संसदले पारित गरिसकेको बेलायतका समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।

Loading...