fbpx

सभामुखमा नेकपाको दाबी : दिनानाथ शर्मा

काठमाडौं  ३० असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व गर्ने स्पष्ट पारेका छन् ।

पार्टीभित्रैबाट आलोपालो सरकार नेतृत्वबारे बहस भैरहेको बेला नेता शर्माले पाँच वर्ष नै ओलीले सरकारको नेतृत्व गर्ने दाबी गरे । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले आलोपालोको कुरा उठेपनि अहिले त्यो सम्भावना नरहेको जिकिर गरे । नेता शर्माले मन्त्रिमण्डल पूनर्गठनबारे पार्टीभित्र शीर्ष तहमा छलफल भएको जनाए । यसको निर्णय भने प्रधानमन्त्री ओलीले गर्ने उनको भनाई छ ।

नेता शर्माले संघीय संसदको सभामुख पद रिक्त रहेकोले छिटोभन्दा छिटो सभामुख निर्वाचित गर्ने पनि जनाए । नेकपाले सभामुखमा दाबी गर्ने पनि उनले जानकारी दिए । सभामुख र उपसभामुखका विषयमा सकेसम्म निर्वाचन नहोस भन्ने चाहना रहेको उनले बताए ।
पूर्वमन्त्रीसमेत रहेका नेता शर्माले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण शानदार रुपमा सफल भएको प्रतिक्रिया दिएका छन् । सरकारले चिनियाँ राष्ट्रपति सीको भ्रमणको क्रममा सरकारले परिपक्व कुटनीति व्यवहार प्रस्तुत गरेको पनि भन्दै उनले सरकारलाई बधाई दिए ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बहादुर बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पदमा आफ्नो पार्टीको दाबी रहेको बताए । कांग्रेसले सभामुखमा उम्मेद्धवारी दिने उनले बताए । नेता बस्नेतले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय नेपाल भ्रमण महत्वपूर्ण रहेको बताए । भ्रमणको क्रममा सडक, हाईड्रोदेखि रेलसम्म सम्झौता भएको भएपनि यसको कार्यान्वयन पक्ष कडाईका साथ अघि बढाउनु पर्ने उनको भनाई छ ।

Loading...