visit-nepal

बढी वा कम सुत्नाले शरीरको तौलमा पार्छ प्रत्यक्ष प्रभाव

विराटनगर, ३० असोज । दैनिक सुत्ने समयले मानव शरीर स्वास्थ्य छ वा छैन भनेर निर्धारित गर्ने गर्छ । मानिसको उमेरअनुसार ६ देखि ९ घण्टासम्म सुत्दा शरीरलाई पुग्ने गर्छ । तर, मानिसहरू निन्द्रा नपुगेको भन्दै वा अल्छी लागेको खण्डमा निर्धारित समयभन्दा पनि धेरै समय सुतेर बिताइरहेका हुन्छन् भने कोही मानिसहरू काम तथा व्यस्तताका कारण कम सुत्नेसमेत गरिरहेका हुन्छन् ।

तर, धेरैलाई थाहा नहुन सक्छ बढी वा कम सुत्नुले शरीरको तौलमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ । सुताइले पनि शरीरको तौलमा प्रभाव पार्ने कुरालाई हालै गरिएको एउटा अनुसन्धानबाट पुष्टि गरिएको छ । ‘इन्टरनेशनल जर्नल अफ ओवेसिटि’ मा प्रकाशित गरिएको अनुसन्धानमा उक्त कुरालाई उल्लेख गरिएको छ ।

दुई हजार व्यक्तिमा गरिएको अनुसन्धानले कम वा बढी सुत्नाले मानव शरीरको बडी मास इन्डेक्सलाई प्रभावित पार्छ भन्ने निष्कर्ष निकालेको छ । निन्द्रा र मनुष्यको तौलबारे गरिएको अध्ययनमा केही व्यक्तिलाई बढी समय, केहीलाई कम समय र केहीलाई ठिक्क समय र समयमै सुत्न लगाइएको थियो ।

एक वर्षसम्म गरिएको उक्त अध्ययनपछि कम सुत्ने र बढी सुत्ने मानिसको तौल जाँच्दा तौलमा धेरै प्रभाव भएको देखिएको थियो । छ घण्टाभन्दा कम सुत्ने व्यक्ति र ९ देखि १० घण्टाभन्दा धेरै सुत्ने व्यक्तिहरूको बडी मास इन्डेक्समा धेरै नकारात्मक प्रभाव देखियो । छ घण्टा पनि निन्द्रा नलिने व्यक्तिहरूको १ वर्ष पहिलेको दाँजोमा धेरै कमजोर देखिएको थियो  ।

९ देखि १० घण्टाभन्दा धेरै सुत्ने व्यक्तिहरूको तौल पहिलेको तुलनामा एकदम धेरै देखिएको थियो । तर, दिनहुँ ६ देखि ८ घन्टा निन्द्रा लिनुको साथै सही समयमा सुत्ने र उठ्ने गरेका व्यक्तिहरूको शरीर पहिलाको तुलनामा धेरै सन्तुलित र बडी मास इन्डेक्समा पनि सकारात्मक प्रभाव परेको देखिएको थियो ।

Loading...