fbpx

‘धुपौरे’मा अनमोलसँग भिड्दै भिलेनको भूमिका प्रमोद

विराटनगर, ३० असोज । निर्देशक साम्तेन भुटियाको फिल्म ‘धुपौरे’मा चर्चित अभिनेता अनमोल केसी अनुबन्धित भएदेखि नै फिल्मको चर्चा एकदम नै चलिरहेको छ । यही मंसिर २० गतेबाट फिल्मको छायांकन सुरु हुने पक्का भएको छ ।

केही हप्तादेखि अनमोल फिल्मको लोकेसन खोज्न र फिल्मको वर्कसपमा दैनिक घण्टौं बिताइरहेका छन् । डार्क एक्सन लभस्टोरीमा आधारित भएको फिल्म ‘धुपौरे’ मा अब अभिनेता प्रमोद अग्रहरी पनि अनुबन्ध भएका छन् । मधेशी र नेगेटिभ रोललाई एकदम न्याय दिन सक्ने अभिनेताको रूपमा चिनिने प्रमोद फिल्ममा अनमोलसंग भिड्दै भिलेनको भूमिका निर्वाह गर्ने भएका छन् ।

प्रमोदसँग निर्माण टिमले कागजी सम्झौतासमेत गरिसकेको छ । कथाको मागअनुसार फिल्ममा प्रमोदलाई अनुबन्ध गरेको निर्देशक भुटियाले जानकारी दिएका छन् । पर्दामा अनमोल र प्रमोदको भिडन्त हेर्न निकै रोचक हुने देखिन्छ । फिल्मलाई लिएर निकै उत्साहित रहेको प्रमोद बताउँछन् । फिल्मका लागि अहिले निर्माण टिममुख्य अभिनेत्रीको खोजीमा रहेको छ । बिहीबार अभिनेत्रीका लागि फाइनल अडिसन भएपछि अभिनेत्रीको नाम पनि सार्वजनिक गरिने भएको छ ।

धेरैजसो फिल्ममा लभर ब्वाईको भूमिका निर्वाह गर्दै आएका अनमोलले फिल्ममा जुवा खेल्न माहिर एक युवकको भूमिका निर्वाह गर्ने भएका छन् । फरक भूमिका निर्वाह गर्न लागेका कारण फिल्मलाई लिएर अनमोल निकै उत्साहित रहेका छन् । अहिलेसम्म फिल्ममा आफ्नो चरित्रलाई आत्मसात् गर्न नसकेको आरोप खेप्दै आएका अनमोलले फिल्ममा आफ्नो च्यालेन्जिङ रोल रहेको बताए ।

आफ्नो जीवनमा आजसम्म कहिल्यै पनि जुवा नखेलेका कारण उनी अहिले तासको खेल खेल्न सिकिरहेका छन् । उनले फिल्मको लागि करिब ५० लाख पारिश्रमिक लिएका छन् । फिल्मलाई अर्को वर्षभित्र प्रदर्शनमा ल्याउनका लागि निर्माण टिम जुटेको छ ।

Loading...