बुद्धिबंगारा आउँदा दुख्ने कारण

विराटनगर, ३० असोज । मानिसहरूमा जम्मा गरेर ३२ ओटा दाँत हुन्छ । ३२ ओटा दाँत एकै पल्ट आउने भने हुँदैन । मानिसहरूमा आउने दाँतहरूमध्ये सबैभन्दा ढिलो आउने दाँत बुद्धिबंगारा हो । सामान्यतया १८ वर्षको उमेर कटेपछि मात्र यो दाँत पलाउन सुरु हुन थाल्छ ।

कसैकसैमा त २५ देखि ३० वर्षको ढिलो उमेरसम्म पनि यो दाँत आउने हुन सक्छ । नेपालीहरूमा बुद्धिबंगारा नआएसम्म बुद्धि पनि आउँदैन भन्ने पुरानो भनाइसमेत छ । बुद्धिबंगारा एक प्रकारको दाँत नै भए पनि यो दाँतले खाना चपाउन भने कुनै प्रकारको सहयोग गर्दैन । यसको काम त दाँत आउँदा व्यक्तिलाई पीडा दिने मात्रै रहेको हुन सक्छ ।

दाँत दुखाइका कारणले मानिसहरूलाई कान, घाटी, टाउको दुख्नुका साथै ज्वरो समेत आउन सक्छ । दाँत आएर पीडा भएको खण्डमा दाँत निकालेर फ्याक्न डाक्टरहरूले नै सुझाव दिने गर्छन् । धेरै देशहरूमा बंगारालाई आउनेबित्तिकै फाल्ने गरिन्छ । तर, नेपालमा सहेर भए पनि बुद्धिबंगारा बाहिर निस्कँदासम्म चुपचाप दुःख सहेर बसिने गरिन्छ ।

बुद्धिबंगारा एकैपटकमा सबै आउँदैन । पटक पटक थोरैथोरै गर्दै आउने गर्छ । धेरै समय लगाएर दाँत आउने हुँदा यो दाँतले निक्कै लामो समयसम्म दुःख दिन्छ । मुखको च्यापमा आउने भएकोले ठाउँ थोरै हुने भएकाले फुट्ने क्रममा अप्ठ्यारो भएर पीडा भएको हो । बुद्धिबंगारा आउँदै गर्दा माथिल्लो भागको दाँतले थिच्ने पनि हुन सक्ने हुँदा दुःख बढ्छ । बुद्धिबंगारा आउँदै गर्दा वरिपरिको गिजा तथा मासुको भाग छेड्दै आउँछ । यस्तो अवस्थामा इन्फेक्सनसमेत हुन सक्छ । र, इन्फेक्सन भएमा दुखाइ बढ्छ ।

कहिले कहीं बुद्धिबंगारा सिधा आउनुको साटो बांगोसमेत आउने गर्छ । यसो हुँदा गिजा दुख्नुका साथै यसले गालाको मासुलाई समेत छेडेर घाउ बनाउने गर्छ जसकारण यो अत्यन्त पीडादयाक हुन सक्छ । बुद्धिबंगारा थोरै–थोरै गर्दै आउँदा खाएका खानेकुरा वरिपरि अड्किने गर्छ र ब्रस पनि कुनसम्म राम्ररी पुग्न नसक्ने हुँदा अड्किएका खानेकुरा त्यहीँ कुहिने गर्छ । यस्तो अवस्थामा बुद्धिबंगारा आउँदै गर्दा नै दाँतमा किरा लाग्न सक्छ र झन् बढी दुख्छ ।

Loading...