fbpx

चियापानमा पुगेका कार्यकर्ता भने ‘जनतासँग जोडिन जिम्मेवारी देऊ’

नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा पुगेका कार्यकर्ताले पार्टी एकीकरणलाई पूर्णता दिएर जिम्मेवारी दिन माग गरेका छन् । नेकपा कार्यकर्ताले केही सकारात्मकता, केही गुनासो र केही आलोचनात्मक टिप्पणीसहित नेतृत्वलाई गलत प्रवृत्तिको साथ नदिन र राम्रा कामको प्रोत्साहन गर्न आग्रह पनि गरेका छन् ।

३ जेठ २०७४ मा  तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्र बीचको एकतापछि गठित नेकपाले ढिलो गरी केन्द्रीय नेताहरुको कार्य विभाजन, प्रदेश, जिल्ला र भ्रातृ सङ्गठनका इञ्चार्ज/सहइञ्चार्ज तोकेकाले सबै जिल्ला, पालिका र भ्रातृ सङ्गठनका तल्लोस्तरसम्मको एकताले पूर्णता पाएको छैन ।

नेकपा गुल्मीका सङ्गठित सदस्य वासुदेव केसीले अल्झन नगरी पहिले पार्टी एकीकरण टुङ्ग्याएर विकासको मार्गलाई तीव्रता दिन र जनतासँग जोडिने गरी कार्यकर्तालाई जिम्मेवारी दिन पार्टी नेतृत्वलाई आग्रह गरे । उनले सरकार बनेको लामो समय भएपनि जनताको मन छुने काम गरेको नदेखिएको बताए । यद्यपि सरकारले रेल, सुरुङमार्ग, सडक निर्माणमा चालेको कदमलाई सकारात्मकरुपमा लिँदै उनले सँगसँगै जनताले दैनिकरुपमा भोगिरहने समस्यामा ध्यान दिन नेतृत्वलाई आग्रह गरे ।

सिन्धुपाल्चोकका नेकपाका अर्का कार्यकर्ता केशवलाल श्रेष्ठले राजनीतिक नेतृत्वले देश र जनताका लागि भलो हुने काम गर्नुपर्नेमा जोड दिए । उनले अहिले नेता र सरकारले प्रभावकारीरुपमा काम गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै राजनीतिक दल नै तँछाडमछाडमा लागेको बताए । नेकपाका शुभेच्छुक काठमाडौँका ७० वर्षीय वृद्ध अच्युतराम सत्यालले पछिलो समयमा परिवर्तनको लहर देखिन शुरु गरेको बताउँदै पार्टी एकीकरण टुङ्ग्याएर जनताले थाहा पाउने गरी विकास र समृद्धिमा जान नेकपाका नेतालाई सुझाव दिए ।

नेकपाको हुम्लाका सदस्य भुवनबहादुर शाहीले रोजगारीका लागि नेपाली युवा विदेश जाने परम्परा रोकिँदैन तबसम्म सरकारले राम्रो काम गरेको नठहरिने बताए । हुम्लाकै शुभेच्छुक पार्वती थापाले जनताका दैनिक जीवनमा आइपर्ने समस्या ज्यूँकात्यूँ रहेको बताइन् ।

चियापान समारोहमा राजनीतिक नेताहरुले साझा विषयमा अझै सबै दलहरुको एकता आवश्यक रहेकामा जोड दिँदै चाडबाडमा हुने यस्ता कार्यक्रमले आपसी सद्भाव कायम गर्न र राजनीतिक नेताहरुबीच नजिक हुने अवसर मिल्ने बताएका थिए ।

Loading...