fbpx

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण बहुआयामिक महत्व रहेको अध्यक्ष थापाको भनाई

काठमाडौं २९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण नेपालका लागि बहुआयामिक महत्वको बन्न पुगेको बताएका छन् ।

अध्यक्ष थापाले दैवी प्रकोप, नाकाबन्दीलगायत समस्याबाट नेपाली जनताले कष्ट भोगिरहेको अवस्थामा चीनसँगको दीर्घकालीन आर्थिक विकासको नयाँ खाका खोल्ने सरकारको राम्रो भएको बताए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चाडपर्वका अवसरमा आज काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुने क्रममा पत्रकारसँग कुरा गर्दै अध्यक्ष थापाले छिमेकी मुलुकसँगको रेल, तेल, बिजुली र पारबहनको सम्बन्ध भनेको नेपालको ‘पहिचानका लागि रणनीति’ भएको बताए ।
नेपालका राजनीतिक दलहरुबीच विभिन्न किसिमका मतभेद भए पनि आत्मियता र सद्भाव कायम राखेर शुभकामना आदानप्रदान गर्ने संस्कृति परम्परादेखि चलिआएको उल्लेख गर्दै अध्यक्ष थापाले यस्तै किसिमको सद्भाव र एकता कायम राखी मुलुकको विकास, राष्ट्रियताको संरक्षण र समृद्धिका लागि मिलेर जानुुपर्ने आवश्यकता रहेको बताए ।

अरू देशको तुलनामा नेपालका पार्टीहरु बीच जतिसुकै समस्या भए पनि शान्तिपूर्ण रुपमा समस्या समाधान गर्ने चरित्र रहेकाले यो एकतालाई मुलुकको सर्वाङ्गिण हित र आवश्यकतामा प्रयोग गर्नुपर्ने उनको भनाई छ । अध्यक्ष थापाले विचार र मार्गचित्र हरेक दलको फरक हुने भए पनि मुलुकको मूलभूत विषयमा एकता र समझदारी भए देश र प्रजातन्त्र बलियो हुने तर्क गर्नुभयो ।

दुई तिहाइ बहुमत रहेको सरकारले मुलुकको शान्ति, स्थायित्व र आर्थिक विकासमा ठूलो प्रगति हुन नसकेको भन्दै थापाले सरकारले केही राम्रा काम गरेको भन्दै प्रशंसा पनि गरे ।

Loading...