fbpx

तीन वटा हाँसकाे मूल्य तीस हजार, तिर्न नसक्दा सात परिवार ‘सामाजिक बहिस्कार’मा

यज्ञ अधिकारी

रंगेली, २९ असोज । हाँस चोरी गरेको आरोपमा कटहरी गाँउपालिका– ७ रुडीया टोलका सात परिवार सामाजिक बहिस्कारमा परेका छन् । नाबालकहरूले हाँस चोरेको निहुँमा सात परिवार सामाजिक बहिस्कारमा परेका हुन् ।

सात परिवारलाई गाउँका कुनै पनि घरमा प्रवेशमा बन्देज लागाइएको छ । कटहरी–७ का लट्याङ सरदारका ३ वटा हाँस गाँउकै ६ जना बालकले भदौं २३ गते चोरी गरेको आरोप छ । हाँस चोरेको भन्दै सरदार समाजले ६ जनाको परिवारलाई जनही ५ हजार जरिवाना गरेको थियो । तीन वटा हाँसको ६ जनाले ३० हजार नतिरेपछि कटहरी ७ रुडीया टोलका ललीता यादव, बुजीया सरदार, टिकवा सरदार, गीता सरदार, राजकुमारी सरदार, लगनी सरदार र मञ्जादेवी सरदारको परिवार बहिस्कारमा परेको हो । सात परिवारलाई गाँउका ९३ घरमा प्रवेश गर्न रोक लगाएको पीडितले बताएका छन् ।

सात परिवारले उक्त टोलको कुनै घरमा जन नपाउने, बाटोमा हिँडन नपाउने, दोकान, मील, कलमासमेत जान बन्देज लगाएको पीडित मञ्जादेवी सरदारले बताइन् । असोज २८ गते बुधबारदेखि उनीहरूलाई गाउँमा बन्देज लागाइएको हो । मञ्जादेवीका छुट्टिएर बसेका छोरालाईसमेत गाउँका घरमा प्रवेश गर्न रोक लागाएका छन् ।

सत्यनारायण सरदार, दलकुमार ठाकुर, बेचन सरदारलगायतको समूहले उनीहरूलाई ३० हजार जरिवाना नतिरेका कारण गाउँका घरहरूमा प्रवेशमा बन्देज गरेको पीडित परिवारको गुनासो छ । समाजका अगुवाहरुले एक महिनाभित्रमा जरिवाना नतिरको खण्डमा गाँउ प्रवेशमा रोक लगाने भन्दै उनीहरूलाई बाध्य बनाएका थिए । भदौ २३ गते भएको घटनालगत्तै गाउँ समाज बसेर बालकहरूलाई बाँधेर पिट्नेसम्मको काम भएको पीडितहरूले बताएका छन् ।

बालकहरूलाई बाँधेर पिट्दै एक महिनाभित्र जरिवाना तिर्छु भन्दै कबुल गर्न लागाएको पीडित परिवारले दाबी गरेका छन् । गाउँका अगुवाहरूले ९३ घरका कुनै पनि सदस्य पीडित सात घरमा गए जरिवाना गर्ने चेतावनी दिइएको छ । पीडकमध्येका एक दलकुमार ठाकुरले सात परिवारलाई बन्देज लगाएको स्वीकार गरेका छन् । ‘जरिवाना तिर्न एक महिनाको म्याद दिएको थियो,’ उनले भने, ‘नतिरेपछि गाँउमा प्रतिबन्ध लागाइएको हो ।’

घटनापछि पीडित पक्षले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले पनि छलफलको लागि दुवै पक्षलाई बोलाएको थलाहा प्रहरी चौकीका इञ्चार्ज असई चूडामणि खतिवडाले बताए । चोरीमा संलग्न नाबालक भएकोले दुवै पक्षलाई मिलाउने प्रयास गरेको उनले बताए । झैझगडा नगर्ने भन्दै मिलापत्र गराउन खोज्दा पीडक पक्षले हस्ताक्षर गर्न नमानेको उनले बताए । उनले प्रहरीको रोहबरमा कुनै दण्ड जरिवाना नगराइएको बताए । सरदार समाज नामक क्लबका नाममा कानूनभन्दा माथि उठेर आफैँ कारवाही गर्न खोजेको देखिएको खतिवडाको भनाइ छ ।

नेपाल बातर सरदार सामाज कल्याण समिति मोरङसमेत उक्त घटनामा पीडकको पक्षमा रहेको स्रोतले बतायो । समितिका अध्यक्ष मोहनलाल सरदारले उक्त घटनाबारे सुनेको मात्र बताएका छन् । ‘गाउँका युवाहरूको बदमासी छ,’ उनले भने, ‘समाजमा नमिली प्रहरीमा गएको भन्ने सुनेको छु ।’ गलत भएको भए माफी माग्न लागाएर गाँउमै मिलाउने मोहनलालले बताए ।

पीडीतहरूले अन्यायमा परेको भन्दै कटहरी गाउँपालिकामा गुहार मागेका छन् । उक्त घटनाको विषयमा कटहरी गाउँपालिकाले छलफल गर्ने भएको छ । समाजमा गर्न नहुने काम भएको कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले बताए । उनले समाजमा मिलाप हुन नसके कानूनी उपचारमा जाने बताए ।

Loading...