fbpx

दाँतको सुरक्षा कसरी गर्ने ? यस्ताे छ डाक्टर निधि तापरियाकाे सुझाव

चुइगम चपाउँदा दाँतमा असर पुग्छ

दन्त चिकित्सा क्षेत्रमा कार्यरत डा. निधि तापरिया विराटनगरको नोबेल अस्पतालमा कार्यरत छिन् । दाँतको सुरक्षा र महत्त्वबारे उनीसँग गरिएकाे छाेटाे कुराकानी………..

दाँतमा समस्या नहोस् भनेर के गर्न सकिन्छ ?

सुरुमा त दाँतलाई सफा गर्नका लागि दैनिक दुई पटक दाँत माँझ्न अति आवश्यक हुन्छ । तर, बिहान कलेज निस्कने र दिउँसो काममा जाने मानिसहरूले खानापछि ब्रस गर्न सम्भव नहुने हुँदा एक पटक दाँत माझेर जति पनि खाएपनि हरेक पटक दाँत कुल्ला भने गर्न एकदम जरुरी हुन्छ ।

aa

खाना दाँतमा रही रहँदा कुहिएर ब्याक्टेरिया बस्ने हुँदा खाना खाएपछि दाँत नमाझ्दा र कुल्ला नगर्दा खानेकुरा मुखमा कुहिएर किटाणुहरूले अम्लीय पदार्थहरू निकाल्छन् । उक्त पदार्थले दाँतमा आक्रमण गरेर दाँतमा किरा लाग्ने, गिजाको रोग ल्याउने गर्छ । मुखलाई किटाणुरहित बनाउनका लागि राति सुत्नुभन्दा अघि एन्टिसेप्टिक माउथवासबाट एकपटक कुल्ला गर्न सकिन्छ ।

दाँतलाई स्वस्थ राख्नका लागि सबैभन्दा मुख्य भूमिका के को हुन्छ ?

दाँतलाई स्वस्थ राख्नका लागि सबैभन्दा ठूलो भूमिका त ब्रस र प्रयोग गरिने टुथपेस्टको हुन्छ । स्वस्थ गिजा र दाँतका लागि राम्रो र नरम ब्रसको प्रयोग गर्नुपर्छ । विज्ञापनमा देखाएका राम्रा ब्रस तथा पेस्टले माँझ्दैमा दाँतमा किरा नलाग्ने भन्ने हुँदैन । मुखको हरेक कुनामा ब्रस पुग्र्ने

गरी दाँत माझ्नु पर्छ । ब्रसलाई तीनदेखि चार महिनामा फेर्नु पर्छ । ब्रसको साथ साथै डेन्टल फ्लसको प्रयोग गर्नु पर्छ ।

डेन्टल फ्लसको प्रयोग गर्नुपर्छ भन्नु भयो, यो के हो ?

डेन्टल फ्लस, धागो जस्तो आकार भएको हुन्छ । ब्रसले मात्र दाँतलाई पूर्ण रूपले सफा गर्न नसक्ने हुँदा दाँतमा अड्केको खानेकुरा तथा फोहोर हटाउन मद्दत गर्छ ।

टुथपेस्ट कस्तो र कति मात्रामा प्रयोग गर्नु पर्छ ?

फ्लोराइडयुक्त पेस्टको प्रयोग गर्नु पर्छ । ३ देखि ६ वर्षको बच्चाहरूलाई केराउको दानाभन्दा सानो मात्रामा र ६ वर्ष भन्दा माथिहरूका लागि केराउ जतिको मात्रा मात्रै प्रयोग गर्नुपर्छ । पेस्ट लगाएपछि ३५–४० सेकेण्डदेखि दुई मिनेटसम्म तल–माथि गरेर दाँतलाई सफा गर्नुपर्छ ।

दाँतलाई स्वास्थ्य राख्नका लागि कस्तो खानेकुरा खाने, कस्तो नखाने ?

भिटामिन ‘सी’ र भिटामिन ‘डी’ दाँतका लागि फाइदाजनक हुन्छ । भिटामिन ‘सी’ले गिजालाई स्वस्थ पार्छ । त्यसैले हरियो सागपात र फलफूल दुवै दाँतको स्वस्थताका लागि जरुरी हुन्छ । गुलियो खाने कुराहरूले त दाँत बिगार्छ भन्ने सबैलाई थाहा छ तर गुलियो खानेकुराले मात्र नभएर बजारमा उपलब्ध हुने जंक फुडहरू दाँतको स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

बढी सोडा, कोल्ड ड्रिंकजस्ता पेयपदार्थ पिउने र अधिक मात्रामा गुलियो र टाँसिने पदार्थ जस्तै, क्यान्डी, चिप्स, क्रिम, बिस्कुट खानाले दाँतमा सडन पैदा गर्ने हुन्छ । यस्ता खानेकुराहरू दाँतको इनामेलमा टाँसिन गइ दाँतलाई नोक्सानी पुग्छ र दाँतमा झन्झनाहट पैदा गराउँछ । चुरोट, बिडी, सूर्तीजस्ता पदार्थले गिजामा हानी गरेर दाँत पहेलो, कालो बनाउनुका साथै मुखको क्यान्सरसमेत निम्त्याउने हुँदा यस्ता पदार्थको सेवन गर्नु हुँदैन ।

चुइगमले दाँतलाई असर गर्छ कि गर्दैन ?

अवश्य गर्छ । चुइगम निक्कै बेर चपाउनु पर्ने हुन्छ, चपाउँदै जाँदा चुइगम कडा हुन्छ । कडा कुराहरूले दाँतको इनामेललाई नोक्सानी पुर्याउन सक्छन् । त्यसैले, धेरै बेर चुइगम चपाउँदा दाँतमा असर पुग्न सक्छ ।

मानिसहरूमा दाँत किराले खाएपछि वा दाँतमा पीडा भएपछि मात्र डेन्टिस्टको जाने गर्छन्, यो ठीक हो ?

मानिसहरूको यो सोच एकदम गलत हो । दाँतमा पीडा होस् या नहोस् ६ महिनामा एक पटक डेन्टिस्टसँग परीक्षण गराउनु पर्छ । धेरैजसोलाई दाँतमा किराले प्वाल पारेको वा दाँतमा समस्या भएको पनि थाहा हुँदैन । सामान्य देखिने समस्याबाट पनि ठूलो रोग निम्तनुअघि नै रोकथाम गर्न सकिने हुँदा डाक्टरको मा जानु आवश्यक हुन्छ ।

दाँत तथा मुखमा समस्या महशूस हुन्छ भने आफैंँ घरेलु उपचारमा लाग्नुभन्दा पनि डेन्टिस्टकोमा जानु पर्छ । मानिसहरूको यस्तो सोच हटाउनका लागि हामीहरू नै प्रायः विभिन्न डेन्टल क्याम्पहरू राख्न थालेका छौं । यसले धेरैजसो मानिसहरूलाई दाँतको स्वास्थ्यको बारेमा र केही नहुँदासमेत डेन्टिस्टकोमा जानुपर्छ भन्ने प्रेरणा दिने गर्छ ।

दाँत सफा गर्न मान्छेहरू डराउने गर्छन्, डराउनु आवश्यक छ त ?

अहिले दन्तचिकित्सा क्षेत्र अत्यन्तै विकसित हुँदै गएको छ । केही कुरामा डराउनु पर्ने भने छैन । दाँत सफा गर्दा दाँत खिइने, हल्लिने तथा पातलो हुने जस्ता कुराहरू भ्रम मात्रै हो । दाँत सफा गर्नका लागि एउटा अल्ट्रासोनिक मेसिनको प्रयोग गरिन्छ जसले कम्पनद्वारा दाँतमा जमेर बसेका फोहोरलाई हटाउँछ । हाम्रो दाँतको इनामेल शरीरको सबैभन्दा मजबुत कुरा हो । र, मेसिन पनि धारिलोे नभएको हुँदा यसले दाँतलाई केही असर गर्दैन ।

मानिसले सिरिंग–सिरिंग केही दिनका लागि अनुभव अवश्य गर्छ । त्यो जमेको फोहर सफा भएपछि दाँतको जराको भाग देखिन गएर भएको हुन्छ । दाँतमा जमा भएको फोहोर सफा भएपछि दाँतहरूबीच खाली ठाउँको महशूस गरेर दाँत पातलो भएको जस्तो लाग्नु भ्रम मात्र हो । दाँत सफा गराउनाले कमजोर हुने वा हल्लिने हुँदैन । दन्त चिकित्सकको सल्लाहअनुसार नियमित रूपमा तीनदेखि छ महिनाको अन्तरालमा दाँतलाई सफा गराइरहँदा दाँतलाई समातेर राख्ने हाड तथा गिजा स्वस्थ रहनुका साथै मुखको दुर्गन्धको समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

दाँतको उपचार खर्च महँगो भएको कारण मानिसहरू परिक्षण गर्न नआएका हुन् कि ?

त्यस्तो होइन । समस्या सामान्य छ भने दाँतको उपचार खर्च खासै महँगो हुँदैन । दाँतको उपचार गराउनु भनेको एउटा महत्त्वपूर्ण लगानी गर्नुजस्तै मानिन्छ । दाँतको उपचार गराउनाले दाँतको दुखाइबाट छुट्कारा पाउनुका साथै हृदयघात, मिर्गाैलाका रोग, मधुमेह, मुखको दुर्गन्धवाट जस्ता अनेकौं रोगबाट समेत बच्न सकिन्छ ।

प्रस्तुति अंकिता ताम्रकार (कोशी अनलाइन)

Loading...